निर्वाचन आचारसंहिता अनुगमन गरिने


काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनलाई लक्षित गरी लागू निर्वाचन आचारसंहिता अनुगमन गर्न टोली खटाएको छ ।
आचारसंहिता पालना भए नभएको सम्बन्धमा अनुगमन गर्न टोली गठन गरी परिचालन गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार आयोगले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकामा टोली खटाएको हो । वडा नं.१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिंह थापालाई खटाइएको थियो।

अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न अधिकारसहितको टोलीलाई खटाइएको आयोगले जनाएको छ । त्यसै गरी कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपानेलाई खटाइएको छ।

आयोगका अनुसार उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सूक्ष्म अनुगमन भइरहेको छ। आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्ने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइएको छ।