काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी सोमबार नेपालगञ्जको भ्रमणमा निस्कने कार्यक्रम रहेको छ। देश दौडाहा शुरू गर्नुभएका पूर्वराजा शाह करिब एक महिना बढी मध्यपश्चिम र सुदूरपश्चिम बस्ने कार्यक्रम तय भएको छ।
पूर्वराजाका संवाद सचिव डा. फणीराज पाठकले आगामी साता नेपालगञ्ज भ्रमणमा जाने उल्लेख गरी प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । भ्रमण तालिकाअनुसार करिब एक महिना मध्य र सुदूरपश्चिम भ्रमणपछि भैरहवा जाने कार्यक्रम रहेको छ । स्रोतका अनुसार नेपालगञ्जमा राजनीतिक भेटघाट हुने सम्भावना रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ कन्भेटोली बिहीबार सडकमार्गबाट नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । टोलीको नेतृत्व सुदन थापाले गर्ने स्रोतको भनाइ छ । सशस्त्र प्रहरीको सुरक्षासहितको कन्भे टोलीमा पूर्वराजा चढ्ने सवारीसाधन पनि सँगै जानेछ । सो टोलीले पूर्वराजा ज्ञानेन्द्र परिवार भ्रमण गर्ने क्षेत्रको सुरक्षा अवस्थाबारे बुझ्नेछ ।
सुदूर र मध्यपश्चिम क्षेत्रको भ्रमणको क्रममा उहाँले विभिन्न शक्तिपीठमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ। ‘अहिले नेपालगञ्ज जाने तय भएको छ, त्यसपछि भैरहवा र अन्य स्थानमा पनि हुनेछ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। पूर्वराजा परिवार नेपालगञ्जको होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया