थप अनुसन्धानका लागि रविलाई काठमाडौं ल्याइयो


काठमाडौं ।

सहकारी ठगी आरोपमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि बिहीबार पोखराबाट काठमाडौंमा ल्याइएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइएको हो। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनबारे पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौं महानगरपालिका–३१ घर भएकी सुनिता नेवा हुनुहुन्छ।

कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौंमा ल्याएर बयान लिइएको छ। ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुनुहुन्थ्यो। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई अहिले प्रहरीको फरार सूचीमा हुनुहुन्छ।

रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि पोखरा लगिएको थियो। बयानका लागि बुटबलसमेत लगेर पोखरा ल्याइएका लामिछानेलाई बिहीबार काठमाडौं ल्याइएको हो। उहाँमाथि चितवन जिल्ला अदालतले समेत पक्राउ पुर्जी काटेको छ।

उहाँमाथि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीको ६५ करोड रकम अपचलनमा संलग्न भएको आरोप छ। त्यस्तै, लामिछानेलाई प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिरहेको बताएको छ।