सुनसरीमा उपचुनावको रौनकः नेताहरू मत माग्न घरघरमा, मतदाता आफ्नै काममा व्यस्त


सुनसरी ।

सुनसरीको गढी गाउँपालिका–६ का ३० वर्षीया ममता साह खेतमा धान काट्न व्यस्त छिन्। उनीजस्तै सोही वडाकी ५० वर्षीया रोना साह पनि धान काट्नमा व्यस्त छिन्। विभिन्न पार्टीका नेताहरू मत माग्न घरदैलोमा व्यस्त रहँदा उनीहरूलाई भने बेग्लै चटारो छ।

यही मङ्सिर १६ मा सुनसरीको गढी- ६ मा वडाध्यक्ष पदका लागि उपचुनाव हुँदै छ। तर, उनीहरूलाई आफ्नो कामको चटारो छ। उनीहरूलाई चुनावको विषयमा खासै चासो भएको देखिँदैन। उनीहरू त प्रतिनिधि पात्र मात्र हुन्।

कोही ज्याला मजदुरीमा त कोही सानोतिनो व्यापार–व्यवसाय गरेर दैनिक गुजारा टार्दै आएकाले सोही काममा व्यस्त हुने गरेको स्थानीय मतदाता अञ्जुदेवी साह बताउँछिन्। ‘चुनावले घरखर्च चलाइदिँदैन त्यसका लागि काम गर्नैपर्‍यो । चुनावका दिन जाउँला कुनै एक जनालाई मतदान गरौँला’, उनी भन्छिन् । प्रायः मतदाता घरमा नभेटिने गरेको र चुनावप्रति धेरै चासो नरहेको पाइएको छ।

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या भएको छ। यसका साथै मतदाताको रुझान पनि निर्क्यौल गर्न कठिन भएको कतिपयको भनाइ छ। २०७९ को स्थानीय तहको चुनावमा गढी–६ मा एमालेका षडानन्द उराँवले जितेका थिए । ७१२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका उराँवको निधन भएपछि यहाँ उपचुनाव हुन लागेको हो।

गत चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले चार सय २४ मत ल्याएर दोस्रो हुँदा कांग्रेसका तिलेश्वर चौधरी चार सय १६ मतका साथ तेस्रो भएका थिए । जनता समाजवादी पार्टीको साथ माओवादी केन्द्रले पाएको छ।

गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त वडामा एक हजार आठ सय ७३ पुरुष र एक हजार सात सय ४९ महिला मतदाता छन्।