कार्यसक्षमता प्रभावकारी नभएका मन्त्रीमाथि समीक्षा हुने

376
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवलाई आफ्नो कार्यक्षमता प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । बुधबार भएको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षामा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन गर्दै कार्यसक्षमता प्रभावकारी नभएका मन्त्रीमाथि समीक्षा हुने चेतावनी दिनुभएको हो ।

एकैपटक मन्त्रिपरिषद्लाई पूर्णता दिँदै ‘फूल गियरमा’ काम गर्ने हुटहुटी जगाएको वर्तमान एमाले–कांग्रेस गठबनधन सरकारले चार महिना बितिसक्दा समेत देखिने गरी काम गर्न सकेको छैन । सरकार गठन भएयता मन्त्रीहरूले सोचेअनुुसारको काम गर्न नसकेको प्रधानमन्त्री ओलीले निष्कर्ष निकाल्नुभएको छ।

संसद्का ठूला दुई दल कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणसँगै केही समयका लागि स्थायी सरकार बन्ने र जनताले अपेक्षा गरेअनुसार कार्यप्रारम्भ हुने विश्वासमाथि सरकारको मौनताले पुनः प्रश्न गर्ने ठाउँ खडा गरेको छ । काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्ने भन्दै प्रधानमन्त्री ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी रूपमा काम गर्न नसक्ने मन्त्रीमाथि पनि समीक्षा हुने बताउनुभयो ।

वर्तमान सरकारका मन्त्रीहरूले आन्तरिक कार्यसम्पादन राम्रो देखाउन खोजे पनि देखिने गरी केही काम गर्न सकेका छैनन्। सरकारका कतिपय मन्त्रीहरू नयाँ भएकाले मन्त्रालय बुझ्नै केही समय लागेको र अब कामले गति लिने बताउँदै आएका छन्। पटकपटक मन्त्री भएर काम गरिसकेकाहरूले समेत नागरिकस्तरमा देखिने गरी काम गर्न नसक्नुले सरकारप्रतिको भरोसा कमजोर भएको सरोकारवालाहरूको टिप्पणी छ।

प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्ने भएकाले समीक्षा र बैठकहरूले मात्रै परिणाम नदिने हुँदा उत्पादन र परिवर्तनमा केन्द्रित हुन आग्रहसमेत गर्नुभएको हो।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसंगतिलाई व्यवस्थापन गर्नुपरेको बताउँदै ११ हजार नक्कली आयोजना ल्याइएको र बहुवर्षीय खालका योजनामा यस वर्ष २० लाखमात्रै बजेट राख्नेखालका विकृति अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो।

‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौं भनेर सोच्नुपर्ने भएको छ । राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन । प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ’ –उहाँले भन्नुभयो।