काठमाडौँ।
अभौतिक (क्रिप्टो) मुद्रा कारोबार तथा संगठित अपराध मुद्दामा तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतको आदेशले चिनिया नागरिक लिन क्विनचिन, तिङ चियाहोङ, हनिपा सिनसुवात अपायार्तलाई मुद्दाको पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
पक्राउ परेका अन्य ३३ जना भने धरौटीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
ब्युरोका अनुसार ललितपुरको एकतावस्तीस्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर संचालन गरेर नेपाली युवा युवतीहरुलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैह्रकानुनी रुपमा काममा लगाई क्रिप्टो कारोबार हुने गरेको सूचना प्राप्त भएपछि गत भदौमा छापा मारेर प्रहरीले ५० जनालाई पक्राउ गरिएको थियो ।
अनुसन्धानपछि प्रहरीले ३६ जनालाई प्रतिवादी बनाई दश करोड चौतिस लाख त्रियानब्बे हजार पाँच सय उनानपचास रुपैयाँ पाँच पैसा विगो मागदावी गरी अदालतमा मुद्दा दायर गरेको थियो । जसअनुसार तीन जना विदेशीलाई अदालतले मुद्दाको पूर्पक्षको लागि कारागार चलान गरेको र अन्य प्रतिवादीहरुलाई धरौटीमा छाडेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया