दृष्टिविहीन विश्वकप क्रिकेट: नेपालको पहिलो जित, अफगानिस्तान १०८ रनले पराजित


काठमाडौँ। पाकिस्तानको लाहोरमा भैरहेको दृष्टिविहीन टी–२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हात परेको छ। सोमबारको भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।

नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर अफगानिस्तानले सवै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अद्र्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए।

यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।