काठमाडौँ।
कुवेत पुर्याएर एक युवतीलाई बेचेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–५ घर भएकी ३२ वर्षिया कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ स्थायी घरभएका ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ छन् । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।
उनीहरूले ती युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने भन्दै ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याएको र त्यहाँबाट कुवेत पुर्याएर ९०० केडी (३ लाख ९४ हजार ६६२) मा कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको प्रहरीले जनाएको छ।
त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन् । त्यसपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया