काठमाडौं ।
गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना भएको गरिमा रोड रेसमा मुकेश पाल र सन्तोषी श्रेष्ठ पहिला भएका छन् ।
१० किलोमिटर दूरीको पुरुषमा नेपाल आर्मीका मुकेश र महिलामा काठमाडौंकी सन्तोषीले पहिलो स्थान हासिल गरेका हुन् । मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरे ।
आर्मीकै सञ्जय श्रेष्ठ र गजेन्द्र राई क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । सञ्जयले निर्धारित दूरी ३१ मिनेट ५८.३ सेकेन्डमा पुरा गर्दा गजेन्द्रले ३२ मिनेट १४.६ सेकेन्ड समय लिए । यस्तै, आर्मीकै नरेन्द्रसिंह रावल चौथो तथा नेपाल प्रहरीका अजितकुमार यादव पाँचौं स्थानमा रहे ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिन् । ३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेस्रो बने । एपीएफकाद्वय आशा रावत र फूलमति राना क्रमशः चौथो र पाँचौं भए ।
कर्पोरेटतर्फ पुरुष ५ किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका मिङमारसिंह तामाङ पहिलो, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोस्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेस्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मदरल्यान्ड सेक्युरिटी प्रालिका विशाल भण्डारी तामाङले पाँचौंं स्थानमा रहे ।
कर्पोरेटको महिलातर्फ नाजारथ स्कुलकी रजिना दुलाल, सानिमा रिलायन्सकी स्वस्तिका कार्की र श्रीषा भण्डारी, महालक्ष्मी विकास बैंककी संगीता लामा तथा गरिमा विकास बैंककी निर्मला कुमालले क्रमशः पहिलोदेखि पाँचौं स्थान हासिल गरे ।
चारै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजारका दरले नगद पुरस्कार पाए ।
सोही अवसरमा गत कात्तिकमा महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलवापत टिमलाई १ लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो । फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले पराजित भएको थियो ।
प्रतिक्रिया