“मेरो गोल ! लैङ्गिक हिंसा विरुद्धको बोल !” नारामा महिला फुटबल 

2.63k
Shares

खोटाङ। 

 “मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल” भन्ने नारासहित खोटाङको हलेसीमा खुला महिला फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । लैंङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगिता शनिबार सुरु हुन लागेको हो । 

हलेसीबजारको बसाहथानस्थित खेल मैदानमा आयोजना हुने प्रतियोगिताका लागि  खोटाङसँगै भोजपुर र ओखलढुंगाका १७ टिम सहभागी हुने भएका छन् । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्ने कार्यक्रम रहेको छ । 

अन्र्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस अर्थात मंसिर १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १० हजार १ सय ११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टिमले ५५ हजार ५ लाख ५५ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलिस्ट २ टिमलाई नगद २२ हजार २ सय २२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । यस्तै, विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको मेयर राईले उल्लेख गर्नुभएको छ । 

जिल्लामा आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि हालसम्मकै सर्वाधिक भएको सोही नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुको भनाई छ ।

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिको म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरिएको छ ।