फिल्मकर्मीलाई परिचयपत्र प्रदान गर्न बुधबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा पटकथा संग्रहालय आरम्भ गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संग्रहालय आरम्भ गरे। त्यस अवसरमा कार्यक्रममा ७ जना फिल्म निर्माता तथा लेखकले मन्त्री गुरुङलाई पटकथा हस्तान्तरण गरे।
कार्यक्रममा फिल्म बोक्सीको घरका निर्माता बद्री अधिकारी र निर्मात्री केकी अधिकारी, कबड्डी ४ का निर्माता रामबाबु गुरुङ, छक्कापञ्जा ५ की निर्देशक दीपाश्री निरौला, नाँगो गाउँका निर्देशक दीपेन्द्र लामा, अन्तरालकी निर्देशक दीपा बस्नेत, दुई नम्बरीका निर्माता प्रकाश नेपाली र चिसो मान्छेका निर्देशक दीपेन्द्र के खनालले प्रतिनिधिका रुपमा स्क्रिप्ट हस्तान्तरण गरे।
मन्त्री गुरुङले ती स्क्रिप्ट बोर्ड अध्यक्ष दिनेश डीसीलाई प्रदान गरेका थिए। प्राप्त पटकथालाई डिजिटल अभिलेखको रुपमा तयार पारिने बोर्ड अध्यक्ष डीसीले जानकारी गराए। डिसीका अनुसार संग्राहलय बैशाख १ बाट शुरु हुने र पटकथाबाट शुरु हुने संग्राहलयमा फिल्ममा प्रयोग भएका विभिन्न समग्रसमेत संग्रह गरिने जानकारी गराए।
प्रतिक्रिया