पर्यटन क्षेत्रलाई उकास्दै इलाम गोल्डकप

564
Shares

इलाम ।


फुटबललाई संस्कृति मान्ने इलामेको लागि इलाम गोल्डकप खेल पर्यटन विकासको निम्ति एउटा माध्यम बन्दैछ । पर्यटन क्षेत्र केही सुस्ताएको इलाममा खेलकुदको माध्यमबाट इलामलाई चलायमान बनाउन इलाम सदरमुकामको ठूलो टुँडिखेलमा इलाम गोल्डकप आयोजना हुँदैछ । प्रतियोगिता आउँदो मंसिर २२ देखि २९ गतेसम्म दोस्रो संस्करणको ‘इलाम गोल्डकप’को आयोजना हुने भएको हो ।


मेची पहाडकै धेरै धनराशि पुरस्कार भएको यो गोल्डकपमा नेपालमा नाम चलेका चर्चित फूटबल क्लब र त्यसमा आवद्ध राष्ट्रिय फुटबल खेलाडीको खेल कौशल इलामेले आँखै अगाडीबाट नियाल्न पाउनेछन् । यहाँ हुन लागिरहेको इलाम गोल्डकपले सुस्ताइरहेको इलामको पर्यटन क्षेत्रलाई चलायमान बनाउने इलामका पर्यटन ब्यबसायी मनोज कोइरालाले बताउनुभयो ।
‘बिगत केही बर्षयता इलामको पर्यटन क्षेत्र खस्कदो अवस्थामा छ’ कोइरालाले भन्नुभयो–‘तर गतबर्षबाट हुन थालेको इलाम गोल्डकपले निश्चित केही समयको लागि भएपनि इलामको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै आएको छ ।’


खेल पर्यटनलाई बढावा दिने बिश्वास लिएको इलाम गोल्डकपको तयारी भने करिब अन्तिम चरणमा पुगेको छ । हाल खेल मैदानमा दर्शक बस्ने करिब ९ हजार क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माणको काम भइरहेको छ भने कडा मैदानलाई पानी तथा माटो हालेर नरम बनाउने तयारी भइरहेको आयोजक रेडहर्ष फूटबल क्लब इलामका महासचिब प्रितम लिम्बूले बताउनुभयो ।


यस गोल्डकपमा ए डिभिजन फूटबल क्लबहरु चर्च ब्वाइज, संकटा, मच्छिन्द्र, त्रिभुवन आर्मी र एनआरटीसहित झापाको रेडस्टार एफसी, आयोजक र भारत दार्जिलिङको जिटिए ११ ले सहभागिता जनाउँदैछ । यस गोल्डकपको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैंयाँ पाउनेछन् । आयोजकले खेलतालिका पनि छिटै सार्वजनिक गर्दैछ ।


‘यस गोल्डकपको माध्यमबाट इलाममा खेल पर्यटनको बिकास मात्र नभएर जिल्लामा प्रतिभावान खेलाडीहरु पनि उत्पादनमा मद्धत पुग्नेछ’ महासचिब लिम्बूले भन्नुभयो– ‘रेडहर्ष फूटबल क्लबले अब इलाममा फूटबलको बिकाससंगै युवा प्रतिभा उत्पादन गर्न एकाडेमी खोल्ने सम्म तयारी गरीरहेको छ ।’


करिब एक करोड खर्च लाग्ने अनुमान गरीएको यस गोल्डकपलाई भब्य र सफल बनाउन आयोजकले दाताहरुबाट आर्थिक सहयोग जुटाउँदै आएको छ । एनआरएनए मुख्य प्रायोजक रहेको यस गोल्डकपका लागि जिल्लाका दशै पालिका सहित प्रदेश र संघीय सरकारसंग पनि आर्थिक सहयोग माग गरेको छ । आर्थिक सहयोग जुटाएर गरिन लागेको यस गोल्डकप आयोजकले इलामलाई खेल पर्यटनको हब बनाउन कम्मर कसेर लागेको छ ।