मंसिर ७ मा एमालेको ‘डिफेन्सिप’ प्रदर्शन

188
Shares

काठमाडौं ।


सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध आगामी मंसिर ७ गते ‘डिफेन्सिप’ प्रदर्शन गर्ने भएको छ । जागरण सभाको नाम दिएर एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो ।


सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने उद्देश्यले शक्ति प्रदर्शन गर्ने तयारी गरिएको नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘एमाले–कांग्रेससहितको सरकारको काम जनतालाई डेलिभरी दिने, सुशासन दिने र मुख्य कुरा राजनीतिक स्थितरता कायम गर्ने नै हो’, उहाँले भन्नुभयो– ‘त्यसकारण यो सरकारले सुशासनका लागि काम थालेको छ । सहकारीबाट लाखौं व्यक्तिको अर्बौं रकम अपचलन भएको र त्यसको विषयमा छानबिन समितिले दिएको सुझावका आधारमा सरकारले काम गरिरहेको छ ।

सडकमा पपुलिस्ट र अराजकता फैलाउने शक्तिहरूले केही भएन भन्ने अफवाह फैलाइरहेकाले त्यसको प्रतिकार गर्न जागरण सभा गरेर नागरिकलाई सकारात्मक सन्देश दिन एमालेले कार्यक्रम तय गरेको हो ।’ प्रतिपक्षी दल र केही अराजक शक्तिले वर्तमान व्यवस्था र नेतृत्वमाथि चौतर्फी रूपमा आक्रमण गरिरहेको बेला एमाले कार्यकर्ताहरू मौन बस्न नहुने निष्कर्षसहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको नेताहरूले बताएका छन् ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित देशरभर ६ सय व्यक्तिहरू पक्राउ परिसकेका छन् । तर, रास्वपाले राजनीतिक प्रतिशोध साँधेर सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी अनावश्यक दुःख दिएको भन्दै सत्तारुढ दलका विरुद्धमा खनिएका छन् ।

रास्वपाका सांसद केन्द्रीय समितिदेखि भूगोलका नेता कार्यकर्तासमेत रविको बचाउमा कात्तिक ३ गतेबाटै सडकमा छन् । २ कात्तिकमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई अदालतको अनुमतिमा म्याद थप गर्दै पोखरा प्रहरी हिरासतमा राखेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कात्तिक १० गते सरकारलाई खबरदारी गर्न काठमाडौंको भृकुटीमण्डमा खबरदारी सभा गरेको थियो । काठमाडौंपछि माओवादी केन्द्रले देशैभरका पालिकामा समेत खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।


प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरू सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै सडकमा ओर्लंदा सत्तारुढ दलसमेत जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्न पुगेपछि दलहरूको पहिलो रोजाइ सडक नै बने प्रस्ट देखिन्छ । विपक्षी राजनीतिक पार्टीहरूले खास गरी भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाइरहेका छन् । एमालेले पनि सोही शैलीमा प्रदर्शन गर्ने तयारी गरेर विपक्षीलाई जवाफ दिने माध्यम जागरण सभालाई बनाउने तयारी गरेको हो ।


सभा र प्रदर्शनमा करिब १ लाख नेताकार्यकर्ता सडकमा आउने एमाले नेताहरूले बताएका छन् । काठमाडौंको भृकुटीमण्डमा हुने जागरण सभामा एमालेले उपत्यकाका तीनवटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको छ । सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ ।

जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले वागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले जानकारी दिनुभयो । भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भइसकेको छ ।

समितिको सहसंयोजकमा एमाले वागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल छन् भने सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी छन् । काठमाडौंपछि एमालेले देशैभर जागरण सभा आयोजना गर्ने नेता भट्टराईले जानकारी दिनुभयो ।