कुलतमा फसेपछि डन बनेका दाहाल प्रहरीको फन्दामा

व्यापारीलाई धम्क्याउँदै चन्दा माग्दै

5.26k
Shares

काठमाडौं ।
मानिस कुलतमा फसेपछि आफ्ना इच्छा र आकांक्षा पूरा गर्न कतिसम्मको हर्कत गर्छ भन्ने उदाहरण बनेका छन् डा. आशिष दाहाल लामो समयदेखि क्यासिनो जाने आदत परेका डा. दाहालले भएभरका आफ्नो कमाइ जुवामा हारेपछि सजिलैसँग पैसा कमाउन आफूलाई अन्डरवल्र्ड डनको मान्छे भएको भन्दै धम्की दिएर रकम असुल गर्ने योजना बनाइरहेका बेला प्रहरीको फन्दामा परेका छन् ।


केही दिनयता ह्वाट्सएप, भाइबर र इमो प्रयोग गरेर आफू अन्डरवल्र्ड नेटवर्कको अन्डरकभर एजेन्ट भएको भन्दै उद्योगी र व्यापारीलाई धम्की दिएर रकम असुल गर्न खोजिरहेका बेला प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।


राजधानीमा अन्डरवल्र्डको अन्डरकभर एजेन्ट भएको भन्दै धम्की आएको जानकारी व्यापारी तथा उद्योगीले सो जानकारी कार्यालयलाई गराएपछि प्रहरी टोलीले प्राविधिक अध्ययन गर्दा उक्त धन्दामा डा. दाहालको संलग्नता देखिएपछि पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस गरेका दाहालले विभिन्न अस्पतालमा काम गरेका थिए ।


डा. दाहालले पाटन अस्पतालमा ६ महिना, मदरल्यान्ड अस्पताल र न्युकेयर क्लिनिकमा एक वर्ष काम गरेका थिए । कामको दौरानमा सन् २०१७ देखि २०१९ सम्म अमेरिका बसेका दाहाल क्यासिनोको लतमा फसेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
‘नेपाल फर्किएपछि अस्थिर चरित्र देखाउँदै आएका दाहालले पछिल्लो समय भने ठगीको योजना बनाएर बसेको अनुसन्धानको क्रममा देखिन्छ’ –एसपी आचार्यले भन्नुभयो ।

ठगीको योजना बनाएका दाहालले आफ्नो क्लिनिकका लागि कामदार चाहिएको भन्दै विभिन्न अनलाइन तथा फेसबुकमा विज्ञापन गरेर युवायुवतीको सिभी र नागरिकता लिने र त्यसलाई दुरूपयोग गरेर ठगी धन्दा चलाउन शुरू गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी आचार्यले बताउनुभयो ।


‘अहिलेसम्म डा. दाहालले १८÷१९ जना उद्योगी व्यापारीलाई फोन गरेर धम्की दिएको देखिन्छ । अहिलेसम्मको अनुसन्धानबाट धम्की दिएको देखिए पनि रकम असुल गरेको भने देखिँदैन’ –उहाँले भन्नुभयो । डा. दाहालमाथि अनुसन्धान जारी रहेकाले उसले कोही कसैसँग पैसा लिएको रहेछ भने धम्की तथा ठगीमा कारबाही हुने प्रहरीले जानकारी दिएको छ । डा. दाहालको धम्कीपछि केही व्यापारी तथा उद्योगीहरू घर नै छोडेर बस्न बाध्य भएका थिए ।


उद्योगी र व्यापारीलाई फोन गर्दै ५० हजार देखि २ लाखसम्म माग गर्दै आएका डा. दाहालले पैसा नदिए भारतका कन्ट्याक किलर प्रयोग गरेर हत्या गर्ने धम्की दिएको स्वीकार प्रहरीसमक्ष गरेका छन् । उनले प्रयोग गरेको सिमकार्ड पनि अर्काकै नामबाट निकालेको देखिएको एसपी आचार्यले जानकारी दिनुभयो ।