दुर्गा प्रसाईंमाथि साइबर र किर्तेसम्बन्धी मुद्दाको तयारी

उनको घरबाट पक्राउ परेका ९ जनालाई समेत ५ दिन हिरासतमा राखिने

1.03k
Shares

काठमाडौं ।


प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत् ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गाप्रसाईंमाथि ५ दिन हिरासतमा राखेर थप अनुसन्धान हुने भएको छ ।


राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरीले जनाएको छ ।


मंगलवार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उहाँलाई प्रहरीले बुधबार कार्यालय खुलसँगै अदालतमा पेस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत् ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उहाँमाथि अभियोग छ । जिल्ला अदालतबाट साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएसँगै पक्राउ गरिएका प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।


विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उहाँलाई सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत् आरोप लगाउनुभएको थियो । सो भिडियोमा प्रसाईंले प्रधानमन्त्रीको हस्ताक्षरसहितको कागजातसमेत देखाएपछि फर्जी कागजात बनाएको कसुरमा उहाँविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी प्रहरीको छ ।


मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न पाइँदैन । प्रहरीले उहाँलाई आपराधिक उपद्रवविरुद्धको अभियोग पनि लगाउन सक्छ ।

आपराधिक उपद्रव पुष्टि भएमा ३ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने कानुनी व्यवस्था छ । प्रहरीले उहाँविरुद्ध झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन । त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।


प्रसाईंको घरबाट पक्राउ गरिएका ९ जनालाई प्रहरीले मुद्दा चलाउने भएको छ । पक्राउ परेका देवी संग्र्रौला, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरीलाई मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ । उनीहरूलाई पनि भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ ।