उपनिर्वाचनमा ३ सय ७९ उम्मेदवारबीच प्रतिस्पर्धा हुने


काठमाडौं ।


यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७९ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागिएको हो । जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदका लागि सो उपनिर्वाचन हुन लागेको हो ।

त्यसक्रममा मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएको थियो । त्यसमा राजनीतिक दलबाट २ सय ८९ र स्वतन्त्रबाट १ सय २१ जना गरेर ४ सय १० जनाको उम्मेदवारी दर्ता भएको थियो ।
३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जनाबीच प्रतिस्पर्धा हुन लागिएको आयोगले जनाएको छ । त्यसै गरी उपनिर्वाचनमा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार २ जिल्ला समन्वय समिति र एउटा वडा अध्यक्षसहित ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिनुभयो ।

प्रवक्ता पोखरेलका अनुसार रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।


आयोगका अनुसार निर्विरोध निर्वाचित भएका ३ स्थानबाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३ सय ७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न पनि प्रदान गरेको छ ।


स्थानीय तहको उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टीसहित ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेनन् । निर्वाचन कार्यक्रमअनुसार मंसिर ६ अर्थात् बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।


निर्वाचन आयोगबबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरशः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ । साथै आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मतधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।


यसैबीच स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका मेयरका लागि २० जनाबीच नै प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार प्रकाशित गरेको नगरपालिकाको मेयरका प्रत्यासीहरूको अन्तिम नामावली सूचीअनुसार २० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।

मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जनाएको छ । तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । यसैबीच कीर्तिपुर नगरपालिकाअन्तर्गत वडा नम्बर १ को वडा अध्यक्षमा ९ जना चुनाव भिड्ने भएका छन् । यस्तै, वडा नम्बर ४ को वडाध्यक्षमा १२ जनाले चुनाव भिड्ने पक्का भएको छ ।