सडक दुर्घटनाको अवस्था गम्भीर, सक्रिय हुनुपर्ने निकाय नै निस्क्रिय

4.98k
Shares



काठमाडौं ।


नेपालमा सडक दुर्घटनाको पछिल्लो अवस्था डरलाग्दो देखिएको छ । हरेक महिना सडक दुर्घटनाबाट मर्नेको संख्या पनि बढ्दो अवस्थामा पुगेको छ । सडक दुर्घटनाबाट हुने क्षति गम्भीर अवस्थामा पुगेको सरोकारवालाले बताउँदै आएका छन् । तर, सडक दुर्घटना रोकथामका लागि जुनजुन निकाय सक्रिय हुनुपर्ने हो ती निकाय सक्रिय भएको पाइँदैन ।


सडक दुर्घटनाको पछिल्लो तथ्यांक अर्थात् कार्तिक महिनालाई विश्लेषण गर्ने हो भने पनि मर्नेको संख्या डरलाग्दो देखिन्छ । गत कात्तिक महिनामा दुर्घटनामा परेर २ सय ५४ जनाको मृत्यु भएको छ भने दुर्घटना परी घाइते हुनेको संख्या ६ सय २६ रहेको छ ।

त्यस्तै, कार्तिक महिनामा २ हजार ८ सय २५ वटा सवारी दुर्घटनामा भएका छन् जसमा ८५ ट्रक, २६ ट्रिपर, १ सय २६ सार्वजनिक बस, ४२ माइक्रोबस, ३ सय ८० जिप कार, ६१ ट्याक्टर, १ सय ६१ टेम्पो, १ हजार ७ सय ६३ मोटरसाइकल र अन्य सवारीसाधन १ सय ६८ वटा दुर्घटना भएका छन् ।

दान बहादुर कार्की
प्रवत्ता, नेपाल प्रहरी

यदि सवारीसाधनको अवस्था र यात्रु संख्याभन्दा बढी यात्रु बोकेको सार्वजनिक सवारीसाधन दुर्घटना भयो भने त्यसको जिम्मेवारी प्रस्थान बिन्दुमा खटिने नेपाल प्रहरीको युनिट प्रमुखले लिनुपर्ने र कारबाहीको भागिदार बन्नुपर्नेछ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा सडक दुर्घटनामा परी मर्नेको संख्या ७ सय ७८ रहेको छ । यो अवधिमा सवारी दुर्घटनामा परी २ हजार ६४ जना गम्भीर घाइते भएका छन् भने १० हजार १ सय १५ जना सामान्य घाइते भएका छन् । यो अवधिमा १० हजार ४ सय ७४ वटा सवारी दुर्घटना भएको छ जसमा सबैभन्दा धेरै ६ हजार ४ सय ९८ वटा मोटरसाइकल दुर्घटना भएको छ । साना सवारी साधन १ हजार ३ सय ७६, बस ५ सय ३, टेम्पो ६ सय ८५ वटा र अन्य सवारीसाधन १ हजार ४ सय १२ वटा दुर्घटनामा परेका छन् ।


सडक दुर्घटनाबाट मर्नेको संख्या बढ्दै गएपछि नेपाल प्रहरीले सवारीसाधनको अवस्था, सवारीको क्षमताअनुसार यात्री हाले नहालेको बारेमा प्रस्थान बिन्दुमा खटिने प्रहरीलाई उत्तरदायी बनाउन मंगलवार देशभरका प्रहरी कार्यालयलाई प्रधान कार्यालयले परिपत्र गरेको छ । परिपत्रमा यदि सवारीसाधनको अवस्था र यात्रु संख्याभन्दा बढी यात्रु बोकेको सार्वजनिक सवारीसाधन दुर्घटना भयो भने त्यसको जिम्मेवारी प्रस्थान बिन्दुमा खटिने नेपाल प्रहरीको युनिट प्रमुखले लिनुपर्ने र कारबाहीको भागिदार बन्नुपर्ने उल्लेख गरिएको छ ।


सडक दुर्घटनाका कारण हरेक महिना ठूलो संख्यामा मानवीय क्षति भएपछि प्रहरीले सबै नियमनकारी निकाय जिम्मेवार हुनुपर्ने भन्दै सरकारको समेत ध्यानाकर्षण गराएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भएकाले सबै सरोकारवाला निकाय एक ठाउँमा उभिनुपर्ने अवस्था सिर्जना भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।


प्रवक्ता कार्कीले जुनजुन निकायले आफ्नो काम गर्नुपर्ने हो त्यो हुन नसकेको कारण सडक दुर्घटना बढेपछि नेपाल प्रहरीलाई थप जिम्मेवार बनाउन नयाँ परिपत्र गरिएको जानकारी दिनुभयो । सडक विभागले समयमा सडक मर्मत नगर्ने, यातायात व्यवस्था विभागले सार्वजनिक तथा निजी सवारीसाधनको अवस्थाको बारेमा चेकजाँच नगर्ने, सडकमा खटिने ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था, सवारी चलाउने चालकले के गरिरहेको छ भन्नेबारेमा जानकारी नलिने र सवारी चालकले क्षमताभन्दा बढी यात्रु चढाउने गरेको कारण दुर्घटना बढेको निष्कर्ष प्रहरी प्रधान कार्यालयले निकालेको छ ।


नेपालका सडकहरू यातायातमैत्री हुन नसकेका कारण दुर्घटना बढेको निष्कर्ष निकालेको प्रहरीले यसको समाधानका लागि सरकारलाई अहिलेसम्म कुनै सुझाव भने दिएको छैन । सवारीसाधनको गलत प्रयोगका कारण दुर्घटना बढेको निष्कर्षसहित सरकार र सरोकारवाला निकायबीच बेलाबेलामा छलफल हुने गरेको भए पनि यसको समाधान के हो भन्ने विषयमा अहिलेसम्म सरकार तथा निजी क्षेत्रले पहिल्याउन नसकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउनुहुन्छ ।

पछिल्लो समय नेपालमा सवारी दुर्घटनामा सार्वजनिक सवारीसाधनभन्दा पनि निजी सवारीसाधन दुर्घटनामा परेको र मानवीय क्षति पनि बढेकाले सबै सवारीसाधनलाई प्रविधिमैत्री बनाउनुपर्ने सुझाव वरिष्ठ उपाध्यक्ष सिटौलाले दिनुभएको छ ।