मानवअधिकारवादी नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाको शरीर अब हाम्रा सामु नरहे पनि उहाँले अगाँल्नुभएको विचार, कर्मद्वारा स्थापित मूल्य र योगदान भने सदैव स्मरणीय रहिरहनेछ ।
जीवितकालमा गरेका सत्कर्मले नै पार्थिव शरीर जलाइएपछि पनि मानिसलाई जीवित बनाइरहने हो । किनभने देश र जनताको सार्वजनिक स्मृतिमा त्यस्ता व्यक्तिहरुको योगदान कैद भइरहनेछ । कुनै बेला सार्वजनिक पदधारण गरेकै कारणले मात्र उहाँलाई सम्झिने वा सम्झिरहनुपर्ने भने अवश्य होइन । एक त ८३ वर्षको जीवनमा तीन वर्षसम्म (२०४८ सालदेखि २०५१ सम्म) प्रतिनिधिसभाको सभामुख भएको समय ज्यादै थोरै नै हो ।
एउटा यथार्थ के हो भने, उहाँले सभामुख हुँदा अपनाउनुभएको विचार र भूमिकाले पदकै गरिमा बढेको थियो । तर उहाँको व्यक्तित्वको समग्र पहिचान भने नेपाली समाजको लोकतान्त्रिक तथा अग्रगामी रुपान्तरण, मानवअधिकार र वहिष्करणमा परेका समुदायको पक्षमा हुने हरेक आन्दोलन र संघका पक्षपातीका रुपमा बनेको थियो । शान्ति र न्यायका लागि निरन्तर वकालत गर्ने उहाँको छवि सदवै अनुकरणीय रहिरहनेछ । यस दृष्टिले दमननाथ ढुंगाना नेपाल र नेपाली समाजमा सधैँ जीवित रहिरहने विश्वास गर्न सकिन्छ ।
२०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापश्चात् अहिलेसम्म भएका आम निर्वाचनपछि धेरै मानिस प्रतिनिधिसभाको सभामुख भइसकेका छन् । सभामुख भइसकेपछि पहिले आफू आबद्ध रहेको दलको स्वार्थ र आग्रहका आधारमा भूमिका निर्वाह गर्ने सभामुखहरु पनि धरै देखिए । तर ढुंगाना यस्ता सभामुख हुनुभयो, जसले सत्तापक्षको दमनलाई ठाउँ दिनुभएन । संसदीय प्रणालीमा सरकार सत्तापक्षको हुन्छ, संसद् प्रतिपक्षको भन्ने सैद्धान्तिक मान्यतालाई पहिलोपल्ट नेपालको संसद्मा प्रवेश गराउने सभामुखको रुपमा उहाँको पहिचान बनेको छ ।
सभामुख हुँदा पार्टीको स्वार्थभन्दा माथि उठेर संसदीय र संवैधानिक मूल्य–मान्यताबाट दायाँ–बायाँ नगरी भूमिका निर्वाह गर्नुभयो । राजनीतिक विवाद समाधान गर्ने मुख्य थलो संसद् नै हो भन्ने मान्यताप्रतिको निष्ठाले गर्दा उहाँले प्रतिपक्षको सबै विरोध संसद्मा ल्याउनको लागि प्रेरित गरिरहनुहुन्थ्यो । उहाँकै भूमिकाकै कारण सरकारले त काम गर्ने हो, संसद् भनेको प्रतिपक्षकै हो भन्ने मान्यता स्थापित भएको थियो ।
राजनीतिक दलका शीर्षस्थ नेताहरुको कारण संसद् बन्धकमा परेको आलोचना बेलाबखत हुने गरेको स्थितिमा उहाँको भूमिका महत्वपूर्ण मात्र नभई उत्तिकै शिक्षाप्रद रहेको छ । कांग्रेस पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित भएका ढुंगाना सभामुख भइसकेपछि कांग्रेस पार्टीलाई अप्ठ्यारो परे पनि उहाँले लिएको अडान उहाँको निष्ठाको द्योतक हुने गथ्र्यो । यही भूमिकाबाट उहाँको व्यक्तित्व चम्किएको थियो । यस हिसाबले तथाकथित लोकतन्त्रवादीहरुले उहाँबाट लोकतन्त्र र त्यसको मर्म के हो भनेर सिक्न सकिन्छ । लोकतन्त्रमा भिन्न विचारलाई निषेध गर्नुहुन्न भनेर उहाँको जीवनबाट प्रेरणा लिन सकिन्छ ।
ढुंगाना र अर्का मानवअधिकारवादी नेता पद्मरत्न तुलाधारसँगै काम गर्ने र मिल्ने साथी हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सडक आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाबीच संवाद सम्पर्क सूत्रका रूपमा ढुंगाना र तुलाधरले काम गरेर सशस्त्र द्वन्द्वलाई शान्तिप्रक्रियामा रुपान्तरण गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विद्रोही पक्ष र सरकारबीच वार्ता गराउन पनि उहाँहरु मिलेर मध्यस्थतासमेत गर्नुभएको थियो ।
२०७२ सालको शुरुवातदेखि चर्किएको मधेस आन्दोलनलाई काठमाडौंको ठूलै तप्काले नकारात्मक दृष्टिकोणले हेरिरहेको भए पनि त्यति बेला मधेसका कैयौँ जिल्ला भ्रमण गरेर ढुंगानाले मधेसी समुदायको आवाजलाई शान्तिपूर्ण सम्बोधन हुनुपर्ने वकालत गर्नुभएको थियो ।
उत्पीडित वर्ग र समुदायका एजेन्डालाई सम्बोधन गराउन सदवै लागिपर्ने भूमिकाले उहाँ लोकतन्त्र, संघीयता, समावेशीको पक्षमा बलियोरुपमा उभिनुभएको थियो । योगदान, विचार, परिवर्तनको पक्षमा डटेर लड्ने उहाँको चरित्रले जोसुकैलाई प्रेरित गरिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि !
प्रतिक्रिया