स्पेनले पहिलोपटक फिफा विश्वकप उपाधि जित्दा फाइनलमा गोल गर्ने एकमात्र खेलाडी एन्डे«ज इनिस्टा थिए । दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपमा स्पेनले नेदरल्यान्डलाई १–० ले हराएको हो ।
खेलको नतिजा पेनाल्टी सुटआउटमा हुने लगभग तय भएको थियो । तर, ११६ औं मिनेटमा इनिस्टाले गोल गरेर स्पेनलाई अग्र स्थानमा राखेका थिए । यही एक गोलको सहयोगमा स्पेनले पहिलोपटक विश्वकपको उपाधि चुम्न पायो । सन् २०१० पछि भने स्पेनले विश्वकपमा कुनै छाप छाड्न सकेन ।
विश्वकप नै दिलाए पनि इनिस्टालाई बेलन डी ओर सम्मान भने दिइएन । उनको सट्टा लियोनल मेसीलाई बेलन डी ओरबाट सम्मानित गरिएको थियो । शान्त स्वभाव हुनाले उनले अन्याय गरियो भनेर गुनासो पनि गरेनन् । सन् २०११ को बेलन डी ओरमा उनी र जाबी मनोनयनमा परेकाले दुवैले एकअर्काको मत काट्दा मेसी बेलन डी ओरमा सर्वश्रेष्ठ भएका थिए ।
कमै फुटबल खेलाडीले मुख्य तीन ट्रफी (होली ट्रिनिटी) जित्ने उपलब्धि हासिल गरेका हुन्छन् । यसमा इनिस्टा भाग्यमानी ठहरिए कि उनले करिअरमा उक्त तीनै ट्रफी जित्न सफल भए । ती तीन ट्रफी च्याम्पियन्स लिग, युरोपियन च्याम्पियनसिप र विश्वकप हुन् । इनिस्टा यी तीनै प्रतियोगिताको फाइनलमा प्लेयर अफ द म्याचले सम्मानित भएका एकमात्र खेलाडीसमेत हुन् ।
इनिस्टाबारे केही तथ्यः
–१२ वर्षको उमेरमा फुटबल करिअर शुरू, उनको पहिलो क्लब अल्बासेटे बालोम्पाई,
—सन् १९९६ मा बार्सिलोना क्लबमा आबद्ध भएका उनी सन् १९९९ मा यू १५ टिमका कप्तान बनेका,
—बार्सिलोनाबाट खेल्दै ३५ ट्रफी जितेका । मुख्यतया ९ स्पेनी ला लिगा, ४ च्याम्पियन्स लिग उपाधि प्राप्त,
—स्पेनका लागि २ युरोपियन च्याम्पियनसिप र १ विश्वकप उपाधि जितेका,
—बार्सिलोनाका लागि सन् २००२ देखि २०१८ सम्ममा ४४२ खेल खेल्दै ३५ गोल गरेका,
—स्पेनका लागि सन् २००६ देखि २०१८ सम्ममा १३१ खेल खेल्दै १३ गोल गरेका,
—गएको अक्टोबरमा ४० वर्षको उमेरमा युनाइेट अरब इमिरेट्सको क्लबबाट खेल्दै खेलाडी करिअर समाप्त ।
प्रतिक्रिया