धुम्रबराही मन्दिर परिसरमा रहेको धुम्बराही बाल पुस्तकालयमा हरेक शनिबार ४० जनाभन्दा बढी बालबालिका तथा विद्यार्थी भेला भएर पढ्ने र खेल्ने गरेका छन् ।
पुस्तकालय कक्षा १० मा पढ्ने १५ वर्षीया स्कन्दा स्वाँर र कक्षा ५ मा पढ्ने १० वर्षीय सहर्ष स्वाँरले मिलेर चलाएको उक्त निःशुल्क बाल पुस्तकालयमा बिहान ९ देखि ११ बजेसम्म पढ्न र पुस्तक घर लगेर पढ्न पाइन्छ । चार महिनाअघि शुरु भएको उक्त निःशुल्क बाल पुस्तकालयमा हरेक शनिबार स्कन्दाले पुस्तकालय हेर्छिन् भने उनका भाइ सहर्ष खेलकुदसम्बन्धी क्रियाकलापमा सहभागी हुन्छन् ।
‘रिड’ अर्थात् पढ, ‘एक्सचेन्ज’ अर्थात् साटासाट गर, ‘बरो’ अर्थात् उधारोमा लैजाउ र ‘डोनेट’ दान गर भन्ने स्लोगन उनीहरूले बनाएका छन् । पुस्तकालयले तीन सन्देश दिन खोजेको छ । पहिलो अहिलेको डिजिटल लतबाट बालबालिकालाई पुस्तकमा ध्यान केन्द्रित गर्ने । दोस्रो बालबालिकाबीचको सम्बन्धमा नजिक्याउने र तेस्रो समग्रमा पठन संस्कृतिलाई बढाउने छ ।’
खेलकुदका गतिविधिले समुदाय र समुदायका मान्छेहरूसँग जोड्न सहयोगसमेत भइरहेको स्कन्दाको भनाइ छ ।
बाल पुस्तकालयमा नेपाली तथा अंग्रेजी बालकथा, उपन्यास, चित्र कथा र हास्य गरेर करिब १ सय ५० थान पुस्तक छन् । पुस्तकालय सञ्चालनमा उनको परिवारले सुरुदेखि सहयोग गरिरहेको छ । हेर्न आउनेले आफूसँग भएको किताब पनि दिने गरेका छन् ।
पुस्तकालयमा नभएका किताब मगाएर पनि बालबालिकाले पढ्ने गरेका छन् । उक्त पुस्तकालयमा हाजिरी जवाफ, चित्रकला, खेलकुदलगायत विभिन्न गतिविधियुक्त प्रतियोगिता पनि हुने गरेको छ ।
प्रतिक्रिया