गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ


काठमाडौं ।

गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वमन्त्री समेत रहेका उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको जनाएको छ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। तर, उनी उच्च अदालतको फैसलाविरुद्ध मनाङे सर्वोच्च गएका थिए। मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन्। केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार मनाङेलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ।