पोखरा ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बुटवल लगिँदै छ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही लैजाने तयारी प्रहरीले गरेको छ। प्रहरी स्रोतका अनुसार लामिछानेलाई पोखराबाट विमानमा भैरहवा लगिने भएको छ।
लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।
यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रो पटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।
प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, सङ्गठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ।
प्रतिक्रिया