यु–१९ महिला टि–२० विश्वकपः कुवेतविरुद्व ब्याटिङ गर्दै नेपाल


काठमाडौं ।

आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गरिरहेकाे छ। संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। नेपालले १० ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ५६ रन जोडेकाे छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। बुधबारको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले एक सय छ रनको अन्तरले कुवेतलाई हराएको थियो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ। विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ।