काठमाडौं ।
सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा प्रयासरत रहेको दाबी गर्दै आएका सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेले सरकार गठन भएको झन्डै चार महिनापछि मात्रै संयन्त्र गठन गरेका छन् । सरकारका कामलाई प्रभावकारी बनाउन गठन गर्ने भनेको उच्चस्तरीय राजनीतिक संयन्त्र चार महिना पुग्न लाग्दा गठन भएको हो ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका नेताहरूले बताए। दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको छ।
संयन्त्रमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री एवं केन्द्रीय सदस्य रमेश लेखक र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा रहनुभएको छ । त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल रहनुभएको नेताहरूले जनाएका छन्।
प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन्। जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयार भएको छ। कांग्रेस–एमालेबीच भएको समझदारीअनुरूप राजनीतिक स्थिरता, संविधान संशोधन, सुशासन, सामाजिक न्याय, आर्थिक उन्नयन, समृद्धि र विकासका कामलाई प्रभावकारी ढंगबाट सम्पादन गर्न दुवै दलका नेताहरू सक्रिय रूपमा लागेका हुन्।
आवश्यकताअनुसार संघ, प्रदेश र स्थानीय तहसम्मै संयन्त्र बनाएर सबै तहका सरकारको काम प्रभावकारी बनाउने गरी सत्तारुढ गठबन्धन अघि बढेको नेपाली कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो।
‘अहिलेको सरकारलाई असफल हुने छुट छैन’, विश्वकर्माले भन्नुभयो– ‘संसद्का दुई प्रमुख दलबीचको गठबन्धन सरकारले जनताको भावना समेटेर सुशासन, समृद्धि र विकासका कामहरू गर्नु छ। त्यसैअनुरूप सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा मसिनो ढंगले काम गरिरहेको छ। तर, जनतालाई अनुभूति नभइरहेको अवस्थालाई मध्यनजर गर्दै नागरिक स्तरमा सरकारको कामको प्रभावकारिता बढाउन आवश्यक सहजीकरण, समन्वय र निर्देशन दिने समेतको अधिकार प्राप्त उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका हौं।’ यसले सरकारका काम कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सरकारलाई लयमा हिँडाउन यसअघि सरकार सम्बद्ध दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमसमेत आइसकेको नेताहरूले दाबी गरेका छन् । उक्त कार्यक्रममा उल्लिखित योजनालाई मुख्य मार्गदर्शन बनाएर सरकारले काम गर्ने र वितृष्णा बोकेका नागरिकप्रति सकारात्मक छाप छाड्न सरकार प्रयत्नशील रहेको सरकारका मन्त्रीहरूले बताउँदै आएका छन् । सरकारमा कांग्रेस–एमालेसहित जनता समाजवादी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादीलगायतको सहभागिता र समर्थन छ ।
गत असार १७ गते दुई दलबीच भएको सातबुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। ओली दुई वर्ष र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति कांग्रेस र एमालेबीच भएको थियो।
त्योसँगै प्रदेश सरकारमा भागबण्डा, संवैधानिक नियुक्ति, राजदूतलगायत सरकारबाट हुने नियुक्तिमा समेत दुवै दलको परामर्शमा आवश्यक लेनदेन गर्ने भद्र सहमतिअनुसार गठबन्धन अघि बढेको छ। सोहीअनुसार कांग्रेस र एमाले नेतृत्वमा संघदेखि प्रदेश सरकार गठन भएका छन्। संघीय र प्रदेश सरकारका कामकाजलाई प्रभावकारी र जनअपेक्षाअनुसार सञ्चालन गर्न संयन्त्रले काम गर्ने नेताहरूको दाबी छ।
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कांग्रेस–एमालेले सरकारका कामकाज प्रभावकारी बनाउन संयन्त्र बनाएकाले उक्त संयन्त्रले सरकारलाई ठीक ठाउँमा हिँड्न मद्दत गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘यो सरकारले जनताका पक्षमा कामहरू गरी नै रहेको छ । सरकारलाई अझ प्रभावकारी बनाउन र जनतामाझ यथार्थतामा आधारित भएर लोकप्रिय काम गर्नका लागि यो संयन्त्र निर्माण भएको हो । सरकार सम्बद्ध दलहरूले यस संयन्त्रलाई सोहीअनुसार उपयोग गरी सकारात्मक परिणाम निकाल्न सफल हुन्छ भन्ने हामीले विश्वास लिएका छौं।’
सरकारले पछिल्लोपटक भ्रष्टाचार विरोधी गतिविधिलाई मुख्य प्रथमिकतामा राखेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। नयाँ सरकार गठन भएयता मुख्य समस्याका रूपमा रहेको सहकारी ठगीका सम्बन्धमा सरकार सचेत भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । उहाँले भ्रष्टाचारजन्य गतिविधिमा संग्नहरू जेसुकै भए पनि कारबाही हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया