बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु


काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका सुरु भएको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन दिदीबहिनी नहुनेका लागि आज एक दिन सो मन्दिर खुला गरिएको छ । दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

अहिले मन्दिरमा भाइटीका लगाउन भिड लागेको छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।