नासिँदै सेन वंशीय रुद्रपुर गढी

6.58k
Shares

नवलपरासी। 

पूर्वी नवलपरासीकाे द्यौवादी स्थित ऐतिहासिक रुद्रपुर गढी संरक्षणकाे अभावमा नासिँदै गएको छ ।
हुप्सेकाेट गाउँ पालिका ५ स्थित साेक्षेत्रमा सम्बद्ध पक्षकाे नजर नपुग्दा झाडी बुट्यान भित्र हराएको ऐतिहासिक गढी माटाेमा विलिन हुने अवस्थामा पुगेको हाे ।
तत्कालीन रिव्दीकाेटका सेन वंशीय शासक रूद्रसेनले बि.सं. १५५० तिर पाल्पालाई आफ्नो राज्यकाे केन्द्र बनाउदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको बताइन्छ ।

महाभारत पर्वत शृङ्खलाको  उच्च टाकुरोमा अवस्थित रुद्रपुर गढी वरपर दरबारकाे भग्नावशेष, गाेलाकार ट्रेन्च, पाेखरीहरू संरक्षणहीन अवस्थामा रहेका
छन् । जिल्लाकाे प्रसिद्ध माैलाकालिका स्थान, मुकुन्दपुर वरपर काेट तथा मन्दिरका भग्नावशेष आदि हुनुले गढी लगायत याे ठाउँ शक्तिशाली पाल्पा राज्यकाे महत्त्वपूर्ण भूभाग रहेको स्थानीयको दाबी छ ।

पूर्वी र पश्चिमी माेहाेडा भिरालाे भई माथिल्लो भाग निकै सम्म  परेकाे यस गढी देखि केही पूर्वमा रमणीय गाेलपाेखरी क्षेत्र  रहेको छ । उत्तर दक्षिण छिचोल्ने प्राचीन गाैडाे हर्रे नजिक रहेकाले सामरिक दृष्टिले पनि यहाँ गढीको निर्माण भएको आभास मिल्दछ ।

यसै सम्बन्धमा स्थानीय वडाध्यक्ष पदम बहादुर राना बाउ,बाजेकै पालादेखि आफ्नो गाउँलाई रुद्रपुर द्योवादी भनिँदै आएकाेले यहाँ अवस्थित गढी रुद्र प्रताप सेनकै पालामा बनेको तर्क राख्छन् । रानाका अनुसार गढीको मुख्य भागमा केही वर्ष अघि सम्म चारै तर्फ ढोका देखिन्थ्यो,स्लेट जस्ताे काला रंगका चेप्टा ठूला ढुङ्गाले गढीको निर्माण गरिएको थियाे ।

उनले ऐतिहासिक महत्त्वको गढी क्षेत्रकाे विकास हुन सके आन्तरिक पर्यटक भित्र्याउन सकिने देखेर सो ठाउँ सम्म पुग्न स्थानीय तथा प्रदेशको सहयोगमा पदमार्ग बनाउन थालिएको बताए ।

हिमाल,पहाडका दृश्य नियाल्न र छिमेकी देश भारतको बिहार सम्मका भूभाग देख्न सकिने रुद्रपुर गढीमा आन्तरिक पर्यटक भित्र्याउन सके पर्यटनको क्षेत्रमा टेवा पुग्ने स्थानीयको भनाई छ ।