काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताउनुभएको छ। बुधबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने स्पष्ट पार्नुभयो । ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उहाँले भन्नुभयो– ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ।’
यसअघि पनि मन्त्री लेखकले सहकारी ठगी वा भ्रष्टाचारसम्बन्धी कसुरमा दलीय आधारमा कसैलाई नछाड्ने र निर्दोष कोही नपर्ने बताउँदै आउनुभएको थियो । पछिल्लो समय सहकारी ठगी काण्डमा विभिन्न दलसँग आबद्ध रहेका धेरै व्यक्तिहरू संलग्न रहेको पाइएको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलगायत विभिन्न राजनीतिक दलमा आवद्ध रहेका सयौं व्यक्तिहरू छानबिनको दायरामा छन् ।
यद्यपि, रास्वपाले आफ्ना सभापतिको संलग्नता नरहेको भन्दै रिहाइ गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। सत्तारुढ दलकै नेता सहकारी ठगीमा संलग्न भए कारबाही हुनुपर्ने सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले माग गर्दै आएका छन्। गृहमन्त्री लेखकले सहकारी प्रकरणमा संलग्न भएको प्रमाणका आधारमा कोही पनि नछुट्ने दाबी गर्नुभएको छ।
प्रतिक्रिया