काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले उद्योगीहरूसँग डेडिकेटेड र ट्रंकलाइनबाट प्रयोग गरेको बिजुलीको महसुल नउठाई बिजुली नजोड्न चेतावनी दिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई पत्र लेख्दै उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुल उठाउन लाइन काट्ने प्राधिकरणको कदमको समर्थन गरेका हुन्।
दुई संगठनले ६० दिनभन्दा बढी समयसम्म महसुल नतिरे सर्वसाधारणको लाइन काट्ने गरिएको उल्लेख गर्दै अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरी विवाद सिर्जना गरिरहेको कुरा प्रति ध्यानाकर्षण गराएका हुन्।
‘६० दिनभन्दा बढी समय विद्युत महशुल नतिर्ने आम विद्युत उपभोक्ताहरुको लाईन काटि महशुल अशुल उपर गरिदैं आएको भएता पनि अनावश्यक विवाद खडा गर्ने उपरोक्त ग्राहकहरुको विगतमा काटिएको लाईन विभिन्न निर्णयहरुको आधारमा निश्चित म्यादभित्र महशुल भुक्तानी गर्ने गरी जोडिदै आएको थियो । यद्यपी अझै पनि त्यस्ता ग्राहकहरुले महशुल नतिरेको र नतिर्नको लागि ऐन, नियम र कानुन बाहेकका अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरी थप विवाद सिर्जना गरिरहेको कुरा प्रति हाम्रो गम्भिर आपत्ती रहेको छ।’ पत्रमा भनिएको छ।
आम जनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महशुल उठाउने कुरामा प्रचलित ऐन, नियम र विद्युत वितरण विनियमावलीमा रहेका व्यवस्थाहरुको अक्षरशः पालना गर्न/गराउन आग्रह समेत गरिएको छ।
अन्यथा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको बिद्युत महसुल बक्यौता रकम नबुझाई लाईन जोडिएमा आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन्।
प्रतिक्रिया