नेपालगन्ज ।
कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । नेपाल किसान महासंघ बाँकेद्वारा आज कोहलपुरमा आयोजित ‘एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिए ।
समितिले छिटै अध्ययान सक्ने र अनुदान लिएकाहरुको नाम सार्बजनिक गरिने मन्त्री अधिकारीले बताए । कृषि अनुदानको सही सदुपयोग होस भन्ने आफ्नो चाहाना रहेकोमा मन्त्री अधिकारीले जोड दिए । उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलङ्क भएर निस्कने दृढता व्यक्त गरे।
मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताए । उनले आफूले मन्त्रालय सम्हालेपछि दूध र उखुको बाँकी बक्यौता रकम भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताए। किसानहरुले समयमै मल तथा बीउविजनको व्यवस्था, सहुलियतदरमा कृषि ऋण उपलब्ध गराउन, सिंचाईको व्यवस्था, उत्पादनको बजारीकरण, युवा पलायन रोक्न, अनुदानको दुरुपयोग रोक्न, खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध ओसारपसार रोक्न मन्त्री अधिकारीसमक्ष माग गरेका छन् । मन्त्री अधिकारीलाई कोहलपुर डेरी एसोसिएसनले विभिन्न माग राख्दै ज्ञापन पत्र पनि बुझाएको महासचिव सन्तोष पौडेलले बताए ।
प्रतिक्रिया