संघ र प्रदेशले विपद्का लागि घोषणा गरेको रकम निकासा नै गरेनन् 

4.04k
Shares

जिल्ला विपद् कोषमा संघ सरकारले २० लाख र प्रदेश सरकारले ६० लाख मात्रै निकासा गरेका छन् । तत्काल २ करोड रकम भुत्तानी गर्नु पर्ने प्रारम्भिक विवरण पठाउँदै २ पटक निकासाका लागि माग गरिएको भए पनि संघ सरकारले रकम पठाएको छैन । ७९ जनाको निधन हुँदा ६ जना अझै बेपत्ता छन् । 

काभ्रे।

वाढीपहिरो पीडितहरुले सरकारको निर्णय र कार्यविधि फरक भएका कारण राहत पाउन सकेका छैनन् । संघ सरकारले घोषणा गरेको मृत्यु बापतको क्षतिपूर्ति रकम २ लाख मृतक सबैका आफन्तले पाएनन् । अझै प्रदेश सरकारले घोषणा गरेको प्रति व्यक्ति एक लाख रुपैयाँ  उपलब्ध गराएको छैन । काभ्रेपलाञ्चोक जिल्लामा बाढी पहिराबाट असोज १०–१२ मा ७९ जनाले ज्यान गुमाएका छन् भने ६ जना बेपत्ता छन् । 

 ‘संघीय सरकारले बाढीपहिरो तथा विपदमा मृत्यु हुने व्यक्तिको हकमा २ लाख उपलब्ध गराउने उल्लेख गरेको छ । तर, कार्यविधिमा सोही  परिवारका अन्य सदस्यको पनि निधन भएको अवस्थामा एक जनाको हकमा २ लाख र बाँकी सदस्यहरुको हकमा प्रति व्यक्ति एक लाख दिने उल्लेख छ’–जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने–‘एकाघरका सदस्य मृत्यु भएका १६ जनाको हकमा संघीय सरकारको तर्फबाट एक-एक लाख मात्रै भुक्तानी गरिएको छ ।’ मृत्यु भएका मध्ये रामेछाप, झापा जिल्लाका मृतकहरुले सोही  जिल्लाबाट क्षतिपूर्ति दिने गरी पत्राचार गरिएको छ भने विदेशी नागरिकको हकमा निर्णय भएको छैन । पनौती १ मा मृत्यु भएकी सविता सापकोटाको आफन्त नाबालक रहेकाले उनको जन्मदर्ता पछि बैकमा खाता खोलेर रकम हस्तान्तरण गर्ने तयारी भएको छ । ७९ जनाको हकमा ७५ जनाको नामको रकम भुक्तानी गरिएको छ । १ करोड २६ लाख रकम भुक्तानी भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। 

बागमती प्रदेश सरकारले २०८१ असोज १२ साँझ आकस्मिक बैठक बसी बाढीपहिरोबाट भएको क्षतिको यकिन गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० बमोजिम प्रदेश सरकारका तर्फबाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो । एक महिना वितिसक्दा समेत प्रदेश सरकारका तर्फको राहत नागरिकले पाउन सकेका छैनन् । ‘७९ जनाको निधन र ६ जना बेपत्ता भएका छन्’–प्रशासनका एक कर्मचारीले भने–‘प्रदेश सरकारले ६० लाख रकम भन्दा निकासा गरेको छैन । सबै परिवारलाई रकम भुक्तानी गर्न अपुग भएकाले तत्काल वितरण गर्न नसकिएको हो । संघ सरकारको रकम पहिल्यै प्राप्त भएकाले दशै अगावै अधिकांशलाई भुक्तानी गरिएको थियो । प्रदेश सरकारले दशै पछि मात्रै निकासा गरेकाले भुक्तानी हुन सकेन ।’ 

बागमती प्रदेश सरकारको कार्यविधिमा प्रदेशभर विपद्का घटनामा परी कुनै व्यक्तिको मृत्यु भए राहत स्वरूप मृतकको परिवारलाई एक लाख दिने व्यवस्था छ । यस्तै, विपदमा परी कोही मानिस बेपत्ता भइ खोजि गर्दा ९० दिनसम्म फेला नपरे सम्बन्धित स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनको आधारमा मृतकको परिवारलाई एक लाख रुपैयाँ रकम उपलब्ध गराउने उल्लेख छ । तर काभ्रेमा ६ जना बेपत्ता भए पनि धुलिखेल ८ की गीता श्रेष्ठको अदालतमा न्यायिक मृत्यु घोषणाको प्रक्रिया सुरु गरिएको छ । 

जिल्ला विपद् कोषमा संघ सरकारले २० लाख र प्रदेश सरकारले ६० लाख मात्रै निकासा गरेका छन् । तत्काल २ करोड रकम भुत्तानी गर्नु पर्ने प्रारम्भिक विवरण पठाउँदै २ पटक निकासाका लागि माग गरिएको भए पनि संघ सरकारले रकम पठाएको छैन । कार्यविधि अनुसार पूर्ण क्षति भएका घर परिवारका लागि १५ हजार र परिवार संख्याका आधारमा २० हजार रकम दिने उल्लेख छ । सोही  अनुसार रकम भुक्तानी गर्न पनि जिल्ला प्रशासन कार्यालयको विपद् कोषमा रकम जम्मा भएको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा हाल २५ लाख ६१ हजार रुपैयाँ मात्रै मौज्दात छ । स्थानीय सरकारले पनि आफू  खुसी पालिकाको खातामा रकम जम्मा गर्न आब्हान गर्दै आएका छन् । कुन पालिकाको खातामा कति रकम जम्मा भयो ? पालिकाहरुले सार्वजनिक गरेका छैनन् ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत उक्त रकम कति जम्मा भयो जानकारी छैन । सरकारले तिहार अघि नै पूर्ण विस्थापित अवस्थाका घर परिवारका लागि राहत उपलब्ध गराउने भने पनि रकम अभावका कारण जिल्ला प्रशासन कार्यालयले उक्त रकम भुक्तानी गर्न सक्ने अवस्था छैन । स्थानीय तहमा धमाधम तथ्यांक सङ्कलन गर्ने कार्य भइरहेको छ । एक महिनाको अवधिमा समेत पूर्ण विवरण आएको छैन । 
स्थानीय सरकारले घर तथा अन्य क्षतिको विवरण उपलब्ध गराएपछि एकमुष्ट रकम पालिकाको खातामा जम्मा गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले गरेको छ ।