घुस लिएको आरोपमा वडाध्यक्ष ओलीविरुद्ध मुद्दा दायर


काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको  बुद्धशान्ति गाउँपालिका वडा-२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध घुस  लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

 वडा अध्यक्ष ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी  कार्यका लागि ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारले यस अघि नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष ओलीले घुस लिएको प्रमाणित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।