मिथुन चक्रवर्ती : डिस्को डान्सर

658
Shares

बलिउड अभिनेता मिथुन चक्रवर्तीको नाम जसरी प्रतिष्ठित अभिनेताको रूपमा लिइन्छ, १९५० मा कोलकातामा जन्मिएका मिथुनले यो स्थान त्यसरी नै सजिलै हासिल गरेका भने होइनन्। उनले फिल्मी करिअरमा निकै मिहिनेतले यो सफलता हासिल गरेका हुन्।

डिस्को डान्सर, मिथुन दाजस्ता नामले समेत चिनिने अभिनेता चक्रवर्तीबारे रोचक प्रसंग:

-सन् १९७६ मा फिल्म मृगयाबाट बलिउडमा पाइला चालेका मिथुनले पहिलो फिल्मबाटै भारतको राष्ट्रिय पुरस्कार जितेका थिए भने सन् १९८२ को फिल्म डिस्को डान्सरबाट लोकप्रियता पाएका थिए। सो फिल्मपछि उनले पछाडि फर्केर हेर्नुपरेन र बलिउडमा उनको एकखालको क्रेज बन्यो।

-उनी मार्सल आर्टका ब्ल्याक बेल्ट होल्डर हुन्। बलिउडमा सिक्स प्याक एब्स भएका पहिलो हिरो उनी नै हुन्। उनको सिक्स प्याकबाट प्रभावित भएर धेरै हिरोले उनको जस्तै शरीर बनाउन शुरू गरेका थिए।

-उनी आफ्नो समयमा वर्षमा सबैभन्दा धेरै फिल्म रिलिज हुने अभिनेता हुन्। सन् १९९८ मा मिथुनको लिड रोलमा १९ वटा फिल्म रिलिज भएका थिए। जुन रेकर्ड आजसम्म कायम छ। डान्स मुभ, कमेडी, एक्टिङ, शक्तिशाली डाइलग डेलिभरीलगायत खुबीका कारण उनलाई निकै रुचाइएको छ।

-मिथुनले बलिउडमा संघर्ष गर्दा कयौं रात सडकमा सुुतेर बिताएका थिए भने कयौं पटक भोकभोकै परेका थिए। उनले भनेका थिए मैले यस्तो दिन भोगेको छु जुनबेला मलाई खालि पेट सुत्नुपर्ने अवस्था पनि थियो। मैले भोलि के खाने र कहाँ सुत्ने भन्ने सोच्नुपथ्र्यो। कामको खोजीमा भोकभोकै भौतारिँदा उनले एकपटक आफूलाई नै सकाउनेबारे समेत सोचेका थिए।

-मिथुनलाई यस वर्षको दादासाहेब फाल्के अवार्ड प्रदान गरिने भएको छ। भारत सरकारले प्रदान गर्ने सो प्रतिष्ठित अवार्ड भारतको ७० औं राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा प्रदान गरिने भएको छ।

-मिथुनको पहिलो विवाह अमेरिकन मूलकी अभिनेत्री हेलेन ल्युकका साथ भएको थियो। तर, सो विवाह चार महिनामा नै टुटेको थियो। शुरुवाती चरणमा उनले हेलेनको असिस्टेन्टको रूपमा काम गरेका थिए। उनले अभिनेत्री योगीता बालीका साथ दोस्रो विवाह गरे।

-धेरै बंगाली लेखकले मिथुनको जीवनबाट प्रभावित भएर उनको बारेमा किताब लेखेका छन्। उनले करिब तीन सय ५० फिल्ममा अभिनय गरेका छन्।
सन् २०१४ मा उनले राजनीतिमा पाइला राखेका थिए। त्रिणमूल कांग्रेसबाट राज्यसभाको सांसद निर्वाचित भएका उनले राजनीतिक जीवनको तीन वर्षपछि सांसद पदबाट राजीनामा दिएका थिए। मिथुन केही वर्षअघि भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरेका थिए।