विदेशीलाई नागरिकता दिलाउने ४ जना पुर्पक्षका लागि थुनामा, कर्मचारीसहित एक मतियारलाई धरौटीमा रिहा

7.14k
Shares

धादिङ ।

तिब्बती नागरिकलाई नागरिकता दिएको विषमा जिल्ला अदालत धादिङले नागरिकता लिने मुख्य अभियुक्तसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनाम वाङदेलले धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर ०८१ असार ६ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी गरेको नेपाली वंशजको नागरिकतामा झुटा विवरण देखाइ विदेशीलाई नागरिकता दिएको मुद्दामा नागरिकता लिने सोनाम समेत चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले विदेशीलाई नागरिकता दिलाएको मुद्दामा संलग्न भएको आरोप लागेका तिब्बती नागरिक छिरिङ डोण्डुप, सिन्धुपाल्चोकका छिरिङवाङदी शेर्पा र धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ का रामेश्वर रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि उनीहरु जिल्ला कारागार पठाइएको छ ।

यसैगरि सोही मुद्दाका प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का मदनबहादुर तामाङ र जिल्ला प्रशासन कार्यालयका सुब्बा कृष्णप्रसाद थपलियालाई भने जिल्ला अदालतले ५१-५१ हजार धरौटीमा रिहा गरेको छ ।

झुटा विवरण देखाइ विदेशीलाई नागरिकता दिएको, मुद्दासँगै झुटा विवरण पेस गरेर राष्ट्रिय परिचयपत्र बनाएको, राहदानी बनाउने प्रक्रिया समेत थालेको कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दामा प्रतिवादी बनाइ तिब्बती नागरिक छिरिङ डोण्डुप, सिन्धुपाल्चोकका छिरिङवाङदी शेर्पा र धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ का रामेश्वर रिजाललाई तिन ओटा कसुरमा अभियोजन गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी अभिवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

काठमाडौँमा  जुवा खेलिरहेको अवस्थामा तिब्बती नागरिक छिरिङ डोण्डुपलाई प्रहरीले असोज ४ गते पक्राउ गरेपछि नागरिकता किनेको र आफ्नो ठेगाना तिब्बत बताएपछि विदेशीले धादिङबाट नागरिकता जारी गरेको देखिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले  अनुसन्धानपछि घटनाबारे उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयका सुब्बा थपलिया बाहेकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो । प्रहरीले लामो अनुसन्धानपछि थुनछेक बहससंगै चार जनालाई कारागार चलान गरिएको छ भने २ जना धरौटीमा छुटेका हुन् ।