उपनिर्वाचनको तयारी तीव्र, निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो


काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिएसँगै त्यसका लागि आवश्यक तयारी तीव्रता दिएको छ । गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनमार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी अघि बढाएको हो।

व्यवस्थापकीय, प्राविधिक र समन्वयको कार्यलाई तीव्र बनाएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार यही मंसिर १६ गते आइतबार हुने उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ ।

आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने छ । त्यसै गरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

निर्वाचन आयोगले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरूलाई निर्देशन दिएको छ । यसले गर्दा अब राजनीतिक दलहरूले जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर र बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ । ती तीनवटै स्थानीय तहमा हाल मेयर/अध्यक्षमा पुरुष छन् ।

त्यसै गरी कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला भएकाले ती स्थानीय तहमा दलहरूले महिला वा पुरुष उम्मेदवार भने बनाउन सक्छन्।

संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । महिलालाई आरक्षण नगर्ने हो भने सबै पुरुष हुने र हिजो जितेको पद पनि गुम्न सक्ने भएकाले संविधान र निर्वाचन कानुनको सकारात्मक व्याख्या गरी महिलाहरूको उम्मेदवारी सुनिश्चित गर्न खोजिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

निर्वाचन कानुनमा प्रमुख वा उपप्रमुखमध्ये एउटा महिला उठाउनुपर्छ । त्यसअनुसार नै दलहरूले उम्मेदवारी दिएको थियो । तर, अहिले एउटामात्र पद रिक्त भएर उपचुनाव हुन लागेको छ । यसमा महिलाको उम्मेदवार अनिवार्य हुन्न । विभिन्न कारणले रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष छान्न उपनिर्वाचन गर्न लागेको हो । २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचितमध्ये ३४ पद रिक्त छन् ।

त्यसै गरी आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नुपूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले सो व्यवस्थाअनुरूप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक ५ गतेभित्र उपलब्ध गराउन हालै गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ । उपनिर्वाचनमा २५ वटा दलले भाग लिनेछ । उपनिर्वाचन प्रयोजन २५ वटा दल दर्ता भएको थियो ।