घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो !


काठमाडौँ ।

 बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट शकिब अल हसनको क्रिकेट क्यारियरको अन्त्यको सङ्केत देखिएको छ ।

घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल्ने बताएका शकिबले विरोधको सामना गर्नुपर्नेपछि दक्षिण अफ्रिकाविरुद्धको टेस्टबाट बाहिर राखिएको छ । अक्टोबर २१ देखि हुने टेस्ट खेलमा शकिबको स्थानमा लेफ्ट आर्म स्पिनर हसन मुरादलाई टिममा सामेल गरिएको छ । योसँगै घरेलु दर्शकका अगाडी अन्तिम टेस्ट खेल खेल्ने शकिबको सपना अधुरो रहने सम्भावना देखिएको छ । 

अमेरिकाबाट ढाका फर्किनेक्रममा दुबई पुगेका शकिबलाई दुबईपनि पर्खिन भनिएको बताइएको छ । ढाकामा शकिबलाई टिम बाहिर राख्न माग गर्दै प्रदर्शन जारी रहेपछि बंगलादेश क्रिकेट बोर्डले शकिबलाई देश नफर्किन सुझाव दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अघिल्लो महिना भारतविरुद्धको टेस्टका क्रममा शकिबले घरेलु मैदानमा अन्तिम टेस्ट खेल खेल्ने इच्छा व्यक्त गरेका थिए । साथै बंगलादेशमा आफुविरुद्ध जारी विरोधप्रति सङ्केत गर्दै उनले आफ्नो यो नै अन्तिम टेस्ट हुनसक्ने पनि बताएका थिए ।

बंगलादेशमा खेल्ने सम्भावना कम हुदै गएपछि शकिबले सामाजिक सञ्जालमा कहिदिन अघि लेखेका थिए-  ‘म तपाईंहरू वरपरका सबैसँग बिदाइ गर्न चाहन्छु । विदाईको क्षणमा, म तपाईहरुसँग हात मिलाउन चाहन्छु जसको तालीले मलाई अझ राम्रो खेल्न बाध्य बनायो । म ती आँखाहरू भेट्न चाहन्छु जसले राम्रो खेल्दा रमाइलो गरे भने नराम्रो खेल्दा आँखा आँसुले भरिएको थियो ।’

साथै गत जुलाई- अगस्तमा भएको विद्यार्थी आन्दोलनका क्रममा चुप बसेकोप्रति माफी समेत मागेका थिए ।

अगस्तमा सेख हसिनाले देश छोडेदेखि नै शकिब बंगलादेश फर्किन सकेका छैनन् । हसिनाको दल अवामी लिगका निर्वाचित सांसद रहेका शकिबविरुद्ध बंगलादेशमा मुद्धा समेत दायर भएको छ । अगस्तमा सरकार विरोधी आन्दोलन चर्किदै गर्दा शकिब भने क्यानडामा ग्लोबल टी-२० लिग खेलिरहेका थिए । त्यसपछि उनी पाकिस्तान गएर बंगलादेशले जितेका दुई टेस्टको सिरिज खेलेका थिए । त्यसपछि सेप्टेम्बरमा शकिब बेलायत पुगेर सर्रेका लागि एक फर्स्ट क्लास खेल खेलेका थिए । बेलायतपछि उनी भारत आएर टेस्ट सिरिज खेलेका थिए ।

बंगलादेश बोर्डले पहिलो टेस्टबाट शकिबलाई बाहिर राखिएको उनी आफ्नो क्यारियरको अन्तिममा रहेपनि बोर्डको सिस्टम भित्र नै रहेको बताएको छ । साथै बोर्डले अक्टोबर २९ देखि हुने दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा शकिब खेल्ने वातावरण बन्ने विश्वास व्यक्त गरेको छ ।

शकिब विश्वकै उत्कृष्ट अल राउण्डर क्रिकेटर हुन् । उनले बंगलादेशका लागि ७१ टेस्टमा ५ शतक र ३१ अर्धशतकसहित ४६०९ रन बनाएका छन् भने २४६ विकेट लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेलमा ९ शतक र ५६ अर्धशतकसहित ७५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् ।

त्यसैगरी १२९ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै शकिबले २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।