मेथिन्कोट अस्पतालमा शल्यक्रिया विधिबाट प्रसूति सेवा

10.06k
Shares

मेथिन्कोट, काभ्रे।

मेथिनकोट प्रादेशिक अस्पताल भकुन्डेमा प्रसूति सेवाको शल्यक्रिया गरिएको छ । पहिलो पटक सुरु गरिएको उक्त सेवाबाट चार जना लाभान्वित भएका छन् । विपी राजमार्ग अवरोधका कारण केही दिन बिरामीहरूको उपचारमा समेत अवरोध आएको थियो । विपत्तिका समयमा मेथिन्कोट अस्पतालले प्रसूति सेवाको शल्यक्रिया गरेर नागरिकलाई थप सहजता बनाएको छ ।
 
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षातका कारण विपी राजमार्ग तथा सहायक मार्गहरु अवरुद्ध हुन पुगे । बिजुली र संचार समेत नहुँदा नागरिकहरुको जीवन अस्तब्यस्त र कष्टकर हुन पुग्यो । वित्तिका समयमा मेथिन्कोट अस्पतालले यस अघि सुरु नगरेको प्रसूति सेवाको शल्यक्रिया प्रारम्भ ग¥यो । पहिलो पटक असोज १३ गते प्रसूति शल्यक्रिया गरिएको डा. मनोहर श्रेष्ठले बताए । 

उक्त अस्पताललमा आपतकालिन शल्यक्रिया प्रसूति सेवाको सुरुवातसँगै धुलिखेल ल्याउनु पर्ने बिरामीलाई सहज मात्रै भएको छैन बाटोको कारण हुन सक्ने थप सम्भावित जोखिम पनि कम भएको छ । डा.मनोहर श्रेष्ठको नेतृत्वमा मेडिकल सुपरिटेन्डेन्ट तथा बाल रोग विशेषज्ञ अच्युत पौडेल, एनेस्थेसिया असिस्टेन्ट कुशल अधिकारी, ओटी नर्स पिंगल श्रेष्ठ, शर्मिला प्रजापति लगायतको टोलीले पहिलो पटक नमोबुद्ध नगरपालिका वडा नम्बर ७ की गर्भवती महिलाको शल्यक्रिया गरेको थियो ।

 अस्पतालले सुरु गरेको शल्यक्रिया सेवाका बारेमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले समेत अवलोकन गरेका थिए । असोज १३ गते सुरु भएको उक्त सेवा निरन्तर सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेलले जानकारी दिए । यो अवधिमा चार जना गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको डा. पौडेलले बताए । 

मन्त्री किरण थापा मगरले सेवाको शुभारम्भ गरेकोमा शुभकामना दिँदै गुणस्तरीय सेवाका लागि निरन्तर सक्रिय हुन निर्देशन दिए । सोही  अवसरमा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद खनाल, अस्पताल विकास तथा चिकित्सा सेवा शाखाका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा.खगेश्वर गेलाल लगायतको समूहले अस्पतालको सेवाका बारेमा अनुगमन गरेको थियो ।