हात्तीको आक्रमणबाट एक युवकको मृत्यु


कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा २२ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ।

गए राति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा बेलौरी–६, ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।

वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आएका थिए। उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा सामुदायिक वन क्षेत्रमा उनी मृतावस्थामा मंगलबार बिहान फेलापरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, उमेश मृतावस्थामा फेलापरेको स्थानमा जंगली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

एक साताअघि मात्र जंगली हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४, डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो।