दुर्गा प्रसाईंका समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु


झापा ।

 केही समयअघि दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । 

बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।

बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दकोक्रममा भारतीय ट्रकमा आगजनी गरेका थिए ।

आगलागीबाट ट्र्कको अगाडिको भाग पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रसाईनेतृत्वको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भीम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

चालकको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेको अवस्थामा शनिवार मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।