काभ्रेमा बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न पठाइँदै


काभ्रेपलाञ्चोक ।

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगर गाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो। आइतबारदेखि पहिला परीक्षण गरी मगर गाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईंले बताए।

उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।

बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईंले बताए । उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ ।

आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने उनले बताए। पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो।

सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ।

“हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ”, उनले भने । उनले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताए।

संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ। त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्यांक संकलनसमेत भएको हुमागाईंले बताए।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ। घटनामा ७५ जना घाइते भएका छन्।

यो संख्या गत साताको विपदमा परी देशभर मृत्यु हुने संख्याको ३१ दशमलव ५६ प्रतिशत हो। तथ्यांकअनुसार देशभर बाढीपहिरोबाट हालसम्म २४४ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो।