नेपाली युवा भलिबल टिमको विजयी सुरुआत


काठमाडौं ।

नेपाली युवा टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई आइतवार ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

पहिलो सेटमा २५–१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो । यद्यपी नेपालले दोस्रो सेट २५–२३ र तेस्रो सेट नेपालले २८–२६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दमदार सुरुवात गरेको हो।


असोज २६ गतेसम्म कोलोम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानसँग खेल्नेछ । असोज २२ गते तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ।

नेपालले पाँचौ खेलमा असोज २५ गते तुर्किमेनिस्तानसँग खेल्नेछ। प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ।