कम्प्युटर र यसका उपकरण


काठमाडौं ।

कम्प्युटर एक विद्युतीय यन्त्र हो। जसले निर्देशनअनुसार तथ्याङ्कलाई गणना, प्रशोधन तथा भण्डारण गर्छ।
यसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्यसम्पादन गर्न, अधिकांश गणितीय समस्या हल गर्न,तथ्याङ्क भण्डारण तथा नतिजा देखाउन सक्छ। प्रयोजनअनुसार कम्प्युटर विभिन्न आकार र प्रकारका हुन्छन्।
व्यक्तिले स्मार्टफोन, ट्याबलेट, ल्यापटप,डेस्कटजस्ता माइक्रो कम्प्युटर प्रयोग गर्दछन् भने गुगल, याहूजस्ता ठूला कम्पनीले एकैपटक धेरै मानिसले चलाउन मिल्ने मेनफ्रेम र सुपरकम्प्युटर प्रयोग गर्छन्।

कम्प्युटर सिस्टम भनेको यसका हार्डवेयर र सफ्टवेयरको संयुक्त रूप हो। विद्युतीय शक्तिबाट चल्ने मोनिटर, प्रोसेसर,माउस, किबोर्ड, प्रिन्टरजस्ता विभिन्न भौतिक यन्त्र हार्डवेयर हुन्। ती यन्त्रलाई सञ्चालन गर्न कम्प्युटरले बुझ्ने भाषामा तयार गरिएको निर्देशनहरूको प्याकेजचाहिँ सफ्टवेयर हो। विभिन्न देशले आफ्नै भाषाअनुसार प्याकेज तयार गरेका हुन्छन्। सामान्यतया एउटा कम्प्युटर बन्नका लागि कम्तिमा चारओटा हार्डवेयर उपकरण आवश्यक हुन्छन्।

तिनीहरू सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) मोनिटर, किबोर्ड र माउस हुन्। यद्यपि ल्यापटप, नोटबुक, स्मार्ट फोनजस्ता कम्प्युटरमा हार्डवेयरलाई एउटै उपकरणमा एकीकृत गरिएको हुन्छ।

कम्प्युटरले अत्यन्तै छिटो गतिमा, त्रुटिरहित लामो समयसम्म लगातार काम गर्न सक्छ। यसको आविष्कार गणना गर्ने यन्त्रको रूपमा भए पनि वर्तमान समयमा चिठीपत्रलगायत कागजात तयार गर्न, बैङ्क, बिमा, उद्योग, व्यापारलगायत संस्थाका हरहिसाब व्यवस्थितरूपले राख्न प्रयोग गरिन्छ।
घरायसी काम गर्न, रेडियो, टेलिभिजन प्रसारण गर्न, गीत सुन्न, खेल खेल्नलगायत कामका लागि कम्प्युटर प्रयोग गरिन्छ। यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को प्रयोगले आफैँ काम गर्नसक्ने, प्राकृतिक भाषा बुझ्ने, परिस्थितिअनुसार निर्णय गर्ने, मानिसको पहिचान गर्नेसम्मका क्षमता भएका कम्प्युटरको पनि विकास भइसकेको छ।

चार उपकरण

१. इनपुट उपकरण
कम्प्युटरमा कुनै तथ्याङ्क वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरणलाई इन्पुट उपकरण भनिन्छ। माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन इनपुट उपकरण हुन्।

२.प्रशोधन उपकरण

कम्प्युटरमा प्रविष्ट भएका कुनै तथ्याङ्कलाई निर्देशनअनुसार गणना वा प्रशोधन गर्न प्रयोग गरिने उपकरणलाई प्रशोधन उपकरण भनिन्छ। कम्प्युटरको सीपीयूलाई प्रशोधन उपकरण भनिन्छ।

३. आउटपुट उपकरण
कम्प्युटरमा भएका कुनै तथ्याङ्क वा सूचनालाई देखाउन प्रयोग हुने उपकरणलाई आउटपुट उपकरण हो। मोनिटर, प्रोजेक्टर, स्पिकर, प्रिन्टर आदि आउटपुट उपकरण हुन्।

४. भण्डारण उपकरण
कम्प्युटरमा भएका कुनै तथ्याङ्क वा सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको समयमा पुनः प्रयोग गर्न उपलब्ध गराउने उपकरणलाई भण्डारण उपकरण भनिन्छ। भण्डारण उपकरणमा सिडी, डीभीडी, हार्डडिस्क, पेनड्राइभ, मेमोरी कार्डलगायत हुन्।

माइक्रोसफ्ट वर्डमा कागजात तयार गर्ने तरिका

कम्प्युटरमा धेरै प्रोग्राममा तयार गर्न सकिन्छ। त्यसमध्ये माइक्रोसफ्ट अफिसअन्तर्गतका वर्ड, पावरप्वइन्ट, एक्सल आदि बढी प्रचलित छन्।
अनलाइनबाट काम गर्नेले गुगल डक्स, गुगल स्प्रडेसिट, गुगल स्लाइड आदि एप्लिकेसनमा डकुमेन्ट तयार गर्दछन्। एउटा प्रोग्राममा डकुमेन्ट तयार गर्न जानेपछि अन्य प्रोग्राम वा एप्लिकेसनमा पनि तयार गर्न सकिन्छ। त्यसैले अहिले हामी माइक्रोसफ्ट वर्ड प्रोग्राममा कसरी डकुमेन्ट तयार गर्ने र कसरी त्यसलाई प्रिन्ट गर्ने भन्ने सम्बन्धमा यहाँ चर्चा गर्नेछौँ।

१. माइक्रोसफ्ट वर्ड खोल्ने

कम्प्युटर वा ल्यापटप खोल्नुपर्छ। कम्प्युटरको बायाँपट्टी सबैभन्दा तल रहेको स्टार्ट मेनुमा क्लिक गर्नुपर्छ। माइक्रोसफ्ट अफिस वर्ड २००७ वा वर्ड २०१३ वा वर्ड २०१६ नदेखिएसम्म स्क्रोल गर्नुपर्छ।
२. नयाँ डकुमेन्टलाई सेभ गर्ने सबैभन्दा माथि बायाँतर्फ रहेको फाइल ट्याबमा क्लिक गर्नुहोस्। त्यसपछि सेभ वा सेभ एजमा क्लिक गर्नुपर्छ। त्यसपछि दिस पिस क्लिक गर्नुपर्छ। आफ्नो कम्प्युटरभित्रको उपयुक्त ड्राइभ वा डेस्कटपमा क्लिक गर्नुपर्छ। हामीलाई चाहेको विन्डो खुल्छ। भनेको ठाउँमा फाइलको नाम टाइप गर्नुहोस्। अनि सेभ बटनमा फाइल नेम भनेको स्थानमा गर्नुहोस्। तपाईँको फाइल सेभ भयो। अब यसमा केही काम गर्नेबित्तिकै सेभ गर्न पुनः फाइल मेनुमा गएर सेभमा क्लिक गर्नुहोस् वा कन्ट्रोल र एस एकैपटक थिच्नुहोस्।

३. डकुमेन्ट टाइप गर्ने
अङ्ग्रेजी भाषामा टाइप गर्ने भए टाइप गर्न शुरू गर्नुहोस्। नेपाली भाषामा टाइप गर्ने भए फन्ट्समा नेपाली भाषाका प्रिति, सगरमाथाजस्ता नेपाली फन्ट छनोट गर्नुहोस्। आवश्यकताअनुसार फन्ट्स, यसको आकार, अलाइन्मेन्ट, स्पेसिङ मिलाउनका लागि टाइप भएको टेक्स्टलाई सेलेक्ट गरेर मिलाउनुहोस्। यसरी लेखेको टेक्स्टलाई फाइलमा सेभ गुर्नुपर्छ।
कम्प्युटरमा भएका डकुमेन्टलाई कुनै पनि प्रिन्टर प्रयोग गरेर प्रिन्ट गर्न सकिन्छ। त्यसका लागि कम्प्युटर वा ल्यापटपमा सम्बन्धित प्रिन्टरको सफ्टवेयर÷ड्राइभर इन्स्टल गरिएको हुनुपर्दछ। यदि कम्प्युटर वा ल्यापटपमा सफ्टवेयर÷ड्राइभर इन्स्टल गरेको छैन भने प्रिन्ट गर्नुपर्ने डकुमेन्टलाई प्रिन्टरको सफ्टवेयर÷ड्राइभर इन्स्टल गरिएको कम्प्युटरमा सार्नुपर्छ।

यसका लागि पेनड्राइभ वा मेमोरी कार्डजस्ता भण्डारण उपकरण प्रयोग गर्नुपर्छ। प्रिन्टरको सफ्टवेयर÷ड्राइभर इन्स्टल गरिएका कम्प्युटरमा भएका कुनै पनि डकुमेन्ट प्रिन्ट गर्न सकिन्छ। एक प्रकारको डकुमेन्ट प्रिन्ट गर्न जानेपछि अन्य प्रकारका डकुमेन्ट पनि प्रिन्ट गर्न सजिलो हुन्छ।

कसरी प्रिन्ट गर्ने

१. प्रिन्ट गर्नुपर्ने वर्ड फाइल खोल्नुहोस्। पेज कस्तो छ हेर्न पेज प्रिभ्युमा जानुपर्छ।
२. वर्डको पुरानो भर्सन प्रयोग गरेको भए पहिले प्रिन्ट प्रिभ्युमा गएर सेटिङ मिलाउनुपर्छ। वर्ड २०१३ वा त्योभन्दा पछिका भर्सन प्रयोग भएको भए निम्नअनुसार गर्नुपर्दछ।

फाइल मेनुमा जानुहोस् र प्रिन्ट अपसनमा क्लिक गर्नुपर्छ। यसो गर्दा विन्डो खुल्छ। प्रिन्टर लेखेभन्दा तलको बाकसमा क्लिक गर्नुपर्छ र प्रिन्टर छान्नुपर्छ।
सेटिङमा प्रिन्ट अल पेजेज देखाएको हुन्छ। सबै पेज प्रिन्ट गर्नुपर्ने भए केही नगर्नुहोस्। तर, सबै पेज आवश्यक नभएमा त्यसैमा क्लिक गरी देखाइएका विकल्पकमध्ये उपयुक्त विकल्प छनोट गर्नुपर्छ।

कुनै निश्चित पेज वा पेज प्रिन्ट गर्न पेजपछि दिइएको बाक्समा पेज नम्बर टाइप गर्नुपर्छ। कुनै एक निश्चित पेज प्रिन्ट गर्न सोही पेज नम्बर टाइप गर्नुपर्छ। कुनै एउटा पेजदेखि अर्काे पेजसम्म सबै प्रिन्ट गर्न अघिल्लो पेज नम्बर र पछिल्लो पेज नम्बरको बीचमा ड्यास राखेर टाइप गर्नुपर्छ।

डकुमेन्टका बीचबीचका पेज प्रिन्ट गर्नुपर्ने भएमा पेज नम्बरका बीचमा कमा (,)राखेर टाइप गर्नुपर्छ। आवश्यकताअनुसार अन्य सेटिङ मिलाउनुपर्छ। कागजको साइज सामान्यत ए–फोर हुन्छ। विशेष कागज भएको अवस्थाबाहेक ए–फोर कागज राख्नुपर्छ। सबैभन्दा माथि कपिज् लेखिएको हुन्छ। त्यसमा सामान्य अवस्थामा १ उल्लेख गरिएको हुन्छ। एकभन्दा बढी प्रति आवश्यक भए सोअनुसार मिलाउनुपर्छ। अन्त्यमा प्रिन्ट उल्लेख गरेको स्थानमा लेखिएको बटनमा क्लिक गरेपछि आवश्यक कागजात प्रिन्ट हुन्छ।