धम्कीले कहाँ डग्छन् र आमाहरु


हेटौंडा। 

समाजका विभिन्न विकृति-विसंगति न्यूनीकरण गर्न लागिपरेका आमा समूहले आफ्नो रात्रिगस्ती टोलीलाई जारी राखेका छन् ।
हेटौंडा–९ मा करिब ५ वर्षदेखि जारी आमा गस्ती समूहले विकृति तथा विसंगतिको विरोधमा बोल्दा विभिन्न समयमा ज्यान मार्ने धम्की आउने गरेको उनीहरुले बताएका हुन् । महिलाको मात्र सहभागिता रहेको समूह राष्ट्रियस्तरबाट सम्मानित भएको छ ।

गस्ती टोलीलाई जति गालीगलौज आए पनि उनीहरु थप जाँगरिला महिलाका साथमा काम अघि बढाइरहेका छन् । समूहका महिलाले लागुऔषध दुव्र्यसन, महिला हिंसा, झैझगडा र चोरीका कारण अशान्त बन्दै गएको पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ क्षेत्रमा रात्रिगस्ती जारी राखेका छन् ।

गस्ती हिँड्ने क्रममा विभिन्न समूह र दुव्र्यसनीबाट बारम्बार धम्की आउने गरेको गुनासो छ । राति ८ बजेदेखि ११ बजेसम्म गस्तीमा हिँड्ने गरेका उनीहरुले भने–यस क्रममा झगडा तथा दुव्र्यसनमा फसेका युवा तथा अन्य व्यक्तिलाई भेट्छौं । हामीले उनीहरुलाई सम्झाउने क्रममा हात हाल्न आउने गरेका छन् । त्यस्ता व्यक्तिलाई तुरुन्त प्रहरीलाई बोलाएर पठाउने गरेका छौं । महिला भएकै कारण हेप्ने प्रवृत्ति कतिपयमा रहेको उनीहरुले गुनासो गरे ।

टोलीका अनुसार गस्तीका क्रममा ढुंगामुढा हुने गरेको पनि छ । गस्तीमा हिँडेको समयमा सम्झाउने क्रममा ढुंगाले हान्ने प्रयास भएका थुप्रै घटना रहेको उनीहरुले बताए । गस्ती टोलीकी सुशीला गौतमका अनुसार खुकुरी प्रहारको धम्की आउने गरेको छ । ‘राति महिलालाई हिँड्न घरपरिवारबाट पूर्ण साथ र सहयोग छ । तर, समाजमा भएका एक-दुई जनाले चाहिं हाम्रो काममा बाधा पु¥याउने गरेका छन्,’ गौतमले भनिन् –हामीलाई भात पचाउन हिँडेको भन्ने आरोप लगाउनेहरु समाजमै छन् । उनी भन्छिन्–सायद, म एक्लै भएकी भए गस्ती गर्न गाह्रो हुन्थ्यो । तर, म एक्ली छैन, यसकारण हामी यसलाई निरन्तरता दिनेछौं ।

‘जतिसुकै धम्की किन नआओस्, हामी निरन्तर लागिपरेका छौं । बस्तीमा राति अबेरसम्म होटलमा मादकपदार्थ सेवन गर्नेको भिड देखिन्थ्यो । लागुपदार्थ दुव्र्यसनमा फसेका युवाहरु सडकमा अर्धचेत अबस्थामा भेटिन्थे । रात्रिगस्ती थालिएपछि यस्ता घटना धेरै न्यून भएको छ,’ उनको दाबी छ ।

टोलमा विकृति-विसंगति बढ्दै गएका कारण आमा समूहले गरेको अभियानले जाँडरक्सी खाएर पति-पत्नीबीच हुने झगडा, चोरीका घटना घटेको स्थानीयले बताएका छन् । लागुऔषध दुव्र्यसनी र महिला हिंसाको अखडा बन्दै गएको हेटौंडाको पशुपतिनगरमा महिला गस्तीका कारण विकृति निकै घटेको उनीहरुको भनाइ छ । समूहले हेटौंडा–९ भर दिनैपिच्छे फरक टोलमा गस्ती गर्ने गरेको छ । स्थानीय महिला लठ्ठी लिएर राति टोल घुम्ने गरेका छन् । उनीहरुले राति ९ बजेपछि स्थानीय होटल बन्द गर्ने गरेका छन् । यसरी महिला सक्रिय भएपछि जाँडरक्सी खाएर पति-पत्नीबीच हुने झगडा, चोरी हुनेजस्ता घटना घट्दै गएको स्थानीयले बताएका छन् ।

घरेलु मदिरा उत्पादन गर्न रोक लगाइएको छ । ९ बजे होटल बन्द गरिएपछि राति अबेरसम्म मद्यपान बन्द भएको छ । महिला समूह बनाएर गस्ती गर्न थालेपछि पत्नी पिट्ने घटना रोकिएको छ । जाँडरक्सी खाएर पत्नी कुट्ने पतिहरुलाई नियन्त्रणमा लिएर महिलाले प्रहरीलाई बुझाउने गरेका छन् । राति ९ बजेपछि आउने ग्राहकलाई मद्यपानमात्र हैन, खानेकुरासमेत नदिने नीति महिलाले लागु गरेका छन् । यसअघि साँझ ७ बजेपछि सडकमा हिँड्न खतरा थियो ।

रात्रिकालिन सडक सुरक्षा र हिंसामुक्त सडक अभियानसाथ युवाहरुलाई लागुपदार्थ दुव्र्यसनबाट मुक्त गर्दे हिंसाजन्य घटनाको दर शून्य बनाउने उद्धेश्यसाथ २०७४ सालमा स्थापना भएको पुष्पाञ्जली आमा रात्रिगस्ती समूहको तेस्रो साधारणसभा तथा विजयादशमी, छठ तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

साधारणसभाबाट अध्यक्ष कल्पना थापामगर, उपाध्यक्ष धन मुक्तान, सचिव सुशीलाकुमारी गौतम, कोषाध्यक्ष गोमा शाह, सदस्यहरु बिना रिजाल, ज्ञानु जोशी, गोमा क्षेत्री, बिमला भारती, शारदा कार्की, बेली लामासहित दश सदस्यीय कार्यसमिति सर्वसम्मत्रुपले चयन गरिएको छ ।

संस्था अध्यक्ष थापामगर र हेटौंडा–९ का अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पुष्पाञ्जली आमा गस्ती समूहको कामलाई अवलम्बन गर्दे टोलविकास समितिहरु पनि रात्रिकालीन गस्ती समूह बन्दै गएको र यसले समाजमा झैझगडा कम हुने, अव्यवस्थित मदिरा बिक्री वितरण, लागुपदार्थ दुव्र्यसन तथा घरेलु हिंसाका घटना न्यून हुँदै जानुमा वडा कार्यालय सधै सहकार्य गर्न तयार रहेको वडा अध्यक्ष केसीले बताए ।‘सुमदायलाई अनुशासित राख्न दुव्र्यसन र हिंसारहित समाजले धेरै सहयोग पु¥याउँछ । र, घरका आमाहरु नै सडकमा हिंसाजन्य घटना न्यून गर्न र युवाहरुलाई कुलतमा लाग्न नदिन अहोरात्र रातिको समयमा पहरा दिनु प्रशंसायोग्य काम हो,’ उनले भने ।