६३ वर्षीय शम्भुले म्याराथन दौड्ने


काठमाडौं ।

भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका शिकागो म्याराथन दौड्ने भएका छन्। अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन्।

उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठित मध्ये लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथन दौडिसकेका छन्। उनले चारै म्याराथन पूरा पनि गरेका छन् । ४ घण्टा ४० मिनेटको समय शम्भुको व्यक्तिगत उत्कृष्ट समय हो।

उक्त समय उनले बोस्टन म्याराथनमा कायम गरेका थिए। उनले शिकागो म्याराथनमा आफ्नो उत्कृष्ट टाइमिङमा १० मिनेट सुधार गर्दै ४ घण्टा ३० मिनेटमा दौड पूरा गर्ने लक्ष्य राखेका छन्। शम्भु बुधबार अमेरिका प्रस्थान गर्दै छन्।

उनले कठिन मानिने घरेलु म्याराथन एभरेष्ट म्याराथन र जुम्ला–रारा म्याराथनमा पनि सहभागिता जनाइसकेका छन् । दक्षिण एसियाली खेलकुदका कीर्तिमान धावक वैकुण्ठ मानन्धर र टाटा ग्रुपका चेयरम्यान एन चन्द्र शेखरनबाट प्रभावित भएर ५८ वर्षको उमेरमा सन् २०१९ बाट शम्भुले दौड्न सुरु गरेका हुन् ।

विगत ३२ वर्षदेखि सिप्रदी ट्रेडिङ प्रा.लि. मा आबद्ध शम्भु सिप्रदीका निर्देशक हुन् । उनी सिप्रदीका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनलाई सफलताको शुभकामना दिदै सोल्टी नेपाल क्लबले शनिबार एक कार्यक्रमबीच बिदाइ ग¥यो ।