फ्रेन्चाइजी महिला भलिबलमा कर्णाली यश्वीज च्याम्पियन

2.54k
Shares

काठमाडौं ।

पहिलो पटक महिला भलिबलमा संचालन भएको फ्रेन्चाइजी लिगको उपाधि कर्णाली यश्वीजले जितेको छ। शनिबार कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ५ सेटमा हराएर उपाधि जितेको हो। योसँगैं कर्णाली अपराजित हुँदैं पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन बन्यो।

कर्णालीले पहिलो दुई सेट २५–१७, २५–२० ले जितेपछि सहजै उपाधि जित्ने छनक देखाएको थियो । तर, ललितपुरले यसपछि कर्णालीलाई निकै दबाबमा राख्यो । ललितपुरले तेस्रो र चौथो सेट जितेर २–२ सेट बराबरीमा पुर्‍याएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । निर्णायक सेट र पाँचौं सेटमा भने कर्णालीले ललितपुरविरुद्ध १५–१३ अंकले सेट जित्यो ।

निर्णायक सेटमा पनि ललितपुरले कर्णालीलाई दरो चुनौती दिएको थियो । कहिले कर्णालीको अग्रता कहिले ललितपुरको अग्रता हुँदा खेल रोमाञ्चक बनेको थियो । १२–१२ भएपछि भने दुई अंक लिएर कर्णाली च्याम्पियनसिप अंक नजिक पुगेको थियो । तर, ललितपुरले एक अंक बटुलेर एक च्याम्पियनसिप अंक बचायो । तर, अर्कोभने बचाउन सकिएन । जसमा, कर्णालीले अंक लिँदैं १५–१३ मा सेट र खेल जित्यो ।

कर्णाली यश्वीजका लागि तीन विदेशी खेलाडीले खेलेका थिए । अमेरिकाकी सेटर गेब्रिएल बेन्डा, ग्रीसकी अपोजिट हिटर एथानासिया लियाकी र टर्कीकी आउटसाइड हिटर जेनेप आउट्रानले निकै राम्रो खेलेका थिए । यस्तै, ललितपुरबाट खेलेका तीनै जना थाइ खेलाडी समेत उत्कृष्ट खेल देखाए ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न फ्रेन्चाइज लिग पहिलो पटक महिला भलिबलतर्फ प्रतियोगिता आयोजना भएको हो । इन्फिनिटी ड्रिम्सले महिला सशक्तिकरण भन्दै महिला भलिबल आयोजना गरेको थियो । ‘अब पालो महिलाको’ भन्ने नाराका साथ ईडब्लुभीएल (एभरेष्ट वुमेन भलिबल लिग) आयोजना भयो र निकै सफल भएको आयोजकले जनायो ।
प्रतियोगितामा ६ टिम सामेल रहे । यी टिम मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्वीन्स, चितवन शक्ति, गण्डकी थण्डर्स, कर्णाली यश्वीज हुन् । टिममा नेपाली र विदेशी खेलाडी समावेश गरिएको थियो ।

विदेशी खेलाडीको आगमनले प्रतियोगितामा प्रतिस्पर्धा बढेको र रोमाञ्चक पनि भयो। बेलुकी करिब ८ –साढे ८ बजे सकिएका खेलमा समेत दर्शकको बाक्लो उपस्थित थियो । फाइनलमा समेत अपार दर्शकको उपस्थित थियो।

प्रतियोगितामा खेल्न अमेरिका, रसिया, भारत, बुल्गेरिया, ग्रीस, काजकस्तान, ट्युनिसिया र थाइल्यान्डका खेलाडीले नेपाली खेलाडीसँग खेले । यो प्रतियोगितामा नेपालसहित ९ राष्ट्रका १९ विदेशी खेलाडी अनुबन्ध भएका थिए ।

सबैभन्दा धेरै खेलाडी ५ खेलाडी भारतबाट रहे । उनीहरु सबै भारतीय राष्ट्रिय टोलीका हुन् । टर्की, रसिया र थाइल्यान्डका समान ३, अमेरिका, ग्रीस, बुल्गेरिया, ट्युनिसिया र काजकस्तानका समान १ खेलाडी आएका थिए ।