श्रीलंकन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा

लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग


काठमाडौं ।

श्रीलंकन एयरलायन्सको गम्भीर लापरबाही र बद्मासीका कारण सयौं यात्रुको बिजोग भएको छ। बिहीबार काठमाडौंबाट श्रीलंकाको कोलम्बो उडेको सो एयरलाइन्सले यात्रारत सबै यात्रुको लगेज काठमाडौंमा छोडेपछि कोलम्बो पुगेका यात्रुहरूको बिजोग भएको हो । उनीहरूले शनिवारसम्म पनि आफ्नो लगेज पाउन सकेका छैनन्।

बिहीबार दिउँसो १ः२० बजे उड्नुपर्ने श्रीलंकन एयरलाइन्सको उक्त फ्लाइट प्राविधिक कारण देखाउँदै झन्डै ६ घन्टा ढिलो गरी साँझ ६ बजे मात्र कोलम्बो प्रस्थान गरेको थियो । प्राविधिक समस्याले गर्दा ढिलो उडेको भनिएको उक्त विमानले यात्रुहरूको लगेज भने काठमाडौंमै छोडेको थियो । स्रोतका अनुसार उक्त विमानले आफ्नो क्षमताअनुसार भार बहन गर्न नसक्ने अवस्था भएपछि लगेज नै लोड नगरी यात्रुलाई मात्र उडाएका कारण यात्रुले हैरानी बेहोर्नुपरेको हो ।

सोही विमानमा यात्रा गरेका खेलाडीहरूले शनिवार नै आफ्नो लगेज प्राप्त गरिसकेको भए पनि अन्य कुनै पनि यात्रुहरूले शनिवार रातीसम्म लगेज पाउन सकेका छैनन् । कतिपय यात्रुको नियमित खानुपर्ने औषधिसमेत लगेजमा परेकोले उनीहरूले औषधिसमेत खान पाएका छैनन् भने कैयौं यात्रुहरू तीन दिनदेखि एउटै कपडा लगाएर बस्न बाध्य छन् ।

यहाँनेर विमान शतप्रतिशत दुरुस्त नभएको अवस्थामा उडान भर्नु कति जोखिमपूर्ण थियो भनेर प्रश्न पनि उब्जिन्छ । त्यतिमात्र होइन, यदि उक्त उडान रद्द गरेको खण्डमा यात्रुहरूलाई बसोबास र खानपिनका लागि दिनुपर्ने खर्च श्रीलंकामा भन्दा नेपालमा महँगो हुने देखिएकोले जोखिम मोलेर भए पनि उडान भरेको हुन सक्ने एक यात्रुले बताएका छन्।

उनले भने– ‘अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि फ्लाइट तीन घण्टाभन्दा बढी ढिलो भएको अवस्थामा खानाको व्यवस्था सम्बन्धित एयरलाइन्सले गर्नुपर्ने नियम छ । तर, हामीलाई चाहिँ त्यस्तो कुनै सुविधा उपलब्ध भएन । यात्रुहरू आफैंले खर्च गरेर खानुपर्‍यो । त्यतिमात्र होइन, खेलाडीहरूको लगेज भने शनिवारै इन्डियन एयरलाइन्समार्फत ल्याउनु र अन्य यात्रुको सामान नल्याउनुमा पनि एयरलाइन्सकै बदमासी हो । अन्य एयरलाइन्सबाट लगेज ल्याउँदा खर्च बढी लाग्ने भएकोले श्रीलंकन एयरलाइन्सले त्यस्तो नचाहेको हो ।’

काठमाडौं र कोलम्बो फ्लाइट हप्तामा दुईपटकमात्र हुने गरेको छ । जसले गर्दा कोलम्बो ट्रान्जिट भएर अन्य देश जाने यात्रुहरूको त झन् बिजोग नै भएको छ । उक्त विमानका यात्रुहरूको लगेज आइतबार काठमाडौं–कोलम्बोको अर्को नियमित उडानमार्फत कोलम्बो पुग्ने श्रीलंकन एयरलाइन्सको व्यवस्थापनले जानकारी गराएको छ। यसले कोलम्बो ट्रान्जिट भएर अन्य देश जानेहरू आफ्नो लगेज कुर्ने कि अर्को फ्लाइट समात्ने भनेर चिन्तित भएका छन्।

लगेजको पर्खाइमा कोलम्बोमा विचल्लीमा परेका एकजना यात्रुले भने–‘आइतबार बिहान ६ बजे मेरो माल्दिभ्सको फ्लाइट छ । तर, मेरो लगेज भने काठमाडौंबाट आइतबार रातिमात्र कोलम्बो आइपुग्छ । अब कि मैले लगेज छोड्नु पर्‍यो कि फ्लाइट गुमाउनु पर्‍यो ।’ त्यतिमात्र होइन, धेरै यात्रुहरूको लगेजमा दैनिक रूपमा सेवन गर्नुपर्ने अति आवश्यक औषधिसमेत रहेको उनले बताए । लगेजकै कारणले थुप्रै विद्यार्थीले आफ्नो कनेक्टिङ फ्लाइट छुट्छ भनेर एयरलाइन्सका स्टेसन म्यानेजरलाई बताए पनि बेवास्ता गरिएको उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले श्रीलंकन एयरलाइन्सले यात्रुहरूको लगेज काठमाडौंमा नै छोड्नु गम्भीर त्रुटि भएको र तत्काल लगेज लैजानुपर्ने बताउनुभयो। प्रवक्ता लामिछानेले मन्त्रालयले नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरी छिटोभन्दा छिटो यात्रुहरूको लगेज लैजान श्रीलंकन एयरलाइन्सलाई निर्देशन गरिने जानकारी दिनुभयो।

श्रीलंकन एयरलाइन्सका बिक्री प्रबन्धक दीपक मैनालीका अनुसार श्रीलंकन एयरलाइन्सको आइतबारको नियमित उडानबाट काठमाडौंमा छुटेका सबै लगेजहरू कोलम्बो पुग्नेछन् र त्यहाँबाट सबै यात्रुको लगेज सम्बन्धित ठेगानामा पु¥याइने छ । नेपाल समाचारपत्रको जिज्ञासामा मैनालीले कोलम्बो ट्रान्जिट भई अन्य देशमा जाने यात्रुहरूको लगेज पनि सम्बन्धित देशमै पु¥याइने व्यवस्था मिलाइएको बताउनुभयो ।

नेपालस्थित श्रीलंकाली दूतावासको ध्यानाकर्षण

यसैबीच नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाले पनि श्रीलंकन एयरलाइन्सका एयरपोर्ट इन्चार्ज मारियो हान्यौलालाई फोन गरी यात्रुहरूलाई मर्का नपर्ने गरी यथाशक्य शीघ्र समस्याको समाधान गरिदिन जोड दिनुभएको छ।

नेपाल समाचारपत्रले श्रीलंकाली राजदूतलाई श्रीलंकन एयरलाइन्सका कारण यात्रुहरूले भोग्नुपरेको समस्याबारे ध्यानाकर्षण गराएको थियो।

नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘हो, हिजो उडानमा भिजिबिलिटीलगायत प्राविधिक समस्याका कारण केही यात्रुहरूलाई अफलोड गर्नुका साथै उडान भरेका यात्रुका सामानहरू पनि काठमाडौंमा छाडेर विमान उडेको रहेछ। तपाईंले ध्यानाकर्षण गराउनुभएपछि मैले एयरपोर्ट इन्चार्ज मारियोसँग कुराकानी गरेको थिएँ, उहाँले सबै व्यवस्था मिलाउँछु भन्नुभएको छ।’

समाचार प्रभाव: खेलाडीले भने पाए आफ्नो लगेज
गत बिहीबार श्रीलंकन एयरलाइन्सको चरम लापरबाहीका कारण सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडीसहित सयौँ यात्रु बिचल्लीमा परेको समाचार सम्प्रेषणपछि खेलाडीहरूको समस्या समाधान भएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले शनिवार बिहान नै एभीसी यू–२० च्याम्पियनसिप खेल्न गएका नेपाली खेलाडीहरूले आफ्नो लगेज प्राप्त गरेको जानकारी गराएका हुन।

बिहीबार निर्धारित समयभन्दा ६ घन्टा ढिलो गरेर उडेको श्रीलंकन एयरलाइन्सको यूएल १८२ फ्लाइटले सम्पूर्ण यात्रुहरूको लगेज काठमाडौंमा नै छुटाएर कोलम्बो उडेको थियो । जसलाई नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको अनलाइन पोर्टल न्यूज अफ नेपाल डट कमले ब्रेकिङ समाचारका रूपमा सम्प्रेषण गरेपछि प्रभाव परेको हो। अध्यक्ष चन्दले शनिवार बिहान १० बजेतिर इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत नेपाली भलिबल टोलीले लगेज प्राप्त गरेको बताएका छन् ।

यसअघि काठमाडौं–कोलम्बो उक्त फ्लाइट हप्तामा दुईपटकमात्र हुने गरेको र अर्को फ्लाइट अक्टोबर ६ मा मात्र हुने जानकारी एयरलाइन्सको व्यवस्थापनले गराएपछि नेपाली भलिबल टोली र सयौं यात्रु मर्कामा परेका थिए । त्यसअघि ६ तारिखकै दिन शुरू हुने प्रतियोगितामा खेलाडीहरूले पनि सोही दिनमात्रै आफ्नो लगेज पाउने सम्भावना बढेको थियो ।