विज्ञ केसी भन्छन्- विपद् हामी आफैँले निम्त्याइरहेका छौँ  


भक्तपुर । 

विपद्  विज्ञ रामहरि केसीले विपद् हामी आफैँले नै निम्त्याइरहेको दाबी गरेका छन्। 

बिहीबार नेपाल प्रेस सोसाइटीद्वारा भक्तपुरमा आयोजित “विपदले उठाएका प्रश्न” विषयक साक्षात्कार कार्यक्रममा बोल्दै विज्ञ केसीले भने, “कहाँ बस्ती विकास गर्ने, कहाँ खुला ठाउँ छोड्ने र कहाँ खोलानाला बग्ने जमिन छुट्याउने भन्ने स्पष्ट योजना छैन। पछिल्लो समय हामी आफैं जहाँ पायो त्यहीँ बस्ती बसाउन थालेका छौँ। यसले गर्दा विपद्को जोखिमलाई थप बढाएको छ।”

 केसीले प्राकृतिक विपद्का लागि पूर्व तयारी गर्न सरकारले विदेशी एनजीओ र आइएनजिओहरूको योजनामा भर पर्नु गलत रहेको बताए । उनले भने, “विपद् व्यवस्थापनका लागि सरकारको आफ्नै योजनाको अभाव छ। विदेशी संस्थाहरूले बनाएका योजनामा भर परेर बस्दा हरेक विपद्ले ठूलो धनजनको क्षति पुर्‍याइरहेको छ।”  

नेपालमा विगत केही वर्षमा बाढी, पहिरो, भूकम्पजस्ता विपद्हरूले ठूलो असर पुर्‍याएको छ। यसले विपद् पूर्व तयारीको अभाव स्पष्ट रूपमा देखाएको केसीको भनाइ छ। उनले थपे, “सरकारको गैरजिम्मेवारीले हरेक वर्ष प्राकृतिक विपद्‌हरू सामना गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। विपद् व्यवस्थापनका लागि स्थायी संरचना बनाउन र जनचेतना अभिवृद्धि गर्न ढिला भइसकेको छ।”

विपद् व्यवस्थापनमा मात्र नभएर विपद्को समयमा तात्कालिक राहत, उद्धार, र पुनर्स्थापनामा समेत सरकारले प्रभावकारी कदम नचालेको बताउँदै  उनले सरकारले विज्ञहरूको सुझावलाई बेवास्ता गर्दै गैर योजना अनुरूपका विकास निर्माणहरूले भविष्यमा अझ गम्भीर सङ्कट निम्त्याउने बताए।  

उनले देशमा बढ्दो असुरक्षित बस्ती विकास र सरकारी योजना अभावका कारण प्राकृतिक विपद्‌लाई हामी आफैँले  निम्त्याइरहेको बताए  ।