पृथ्वीराजमार्गको कृष्णभीर सडक भासियो, यातायात एकतर्फी सञ्चालन

27.54k
Shares

धादिङ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालि वडा नम्बर ७ मा पर्ने कृष्णभरिमा सडक भासिएपछि राजमार्गमा यातायात सञ्चालन एकतर्फी भएको छ ।

बुधवार दिउँसो सडक भासिएर त्रिशूली नदीतर्फ बगेपछि सवारी एकतर्फी भएको र यसलाई व्यवस्थापनका लागि सडक जाँच गर्न भुगर्भबिधको टोली बोलाएर परीक्षण गरिरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

सवारी एकतर्फी चलेपनि भासिएको सडक भएको स्थानमा प्रहरी खटाएर ट्राफिक व्यवस्थापन मिलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक, सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

नदी किनारदेखि नै सडक भासिन सुरु भएकोले ठूला सवारीलाई दुईतर्फी सञ्चालन गर्न सक्ने अवस्था नै रहेको छैन । सडक करिब ३० मिटर को दुरी भासिएको छ । साना सवारीहरुले भने सहजै आउजाउ गरिरहेका छन् । ठूला सवारीहरुलाई आलोपालो गरी भासिएको स्थानबाट पास गराइएको छ ।

उक्त भासिएको स्थानमा सडक माथि पनि पहिरोको जोखिम रहेको भुगर्भविद्ले बताएका छन् ।

बुधवार साँझ धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित भूगर्भविद् डा.सौलभ भण्डारीको टोलीले भासिएको स्थानको अनुगमन गरेका छन् ।

केही वर्ष पहिले पनि त्यस स्थानमा पहिरो चलेकोे र अहिले फेरि भासिएकोले तत्काल मर्मत गर्ने सम्भावना नरहेको भूगर्भविद् भण्डारीको भनाइ छ ।

त्रिशुलीनदीबाट नै सडक भासिएको छ । पहिला जसरी पर्खाल उठाउनु पर्ने अवस्था रहेको छ । भासिएको स्थानमा नदीले कटिङ गरिरहेको छ । सडक असुरक्षित बनिरहेको छ ।

दुई दिन अघिको बर्षाको कारण माथिल्लो भेगमा पनि दुई वटा पहिरो लडेको थियो । पृथ्वी राजमार्गको जोखिमपूर्ण स्थानहरुमा २४ सै घण्टा प्रहरी परिचालन थालिएको छ ।

संवेदशनसिल ठाउँमा सादा पोसाकका प्रहरी र पहिरोको जोखिम देखिएका स्थानको पाँच सय मिटर पर सवारी रोकेर व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ ।