हनुमानढोकाको दसैँघरमा राखियो जमरा


काठमाडौं ।

यस वर्षको बडादशैं आजदेखि शुरू भएको छ। नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ। आजकै दिन काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ।

घटस्थापनाको उत्तम साइत आज बिहान ९: १६ बजे दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखिएको हो। त्यस अवसरमा नेपाली सेनाको ब्यान्डबाजा टोलीले मंगल धुन बजाएको थियो। बन्दुक पड्काएर बढाइँ गरिएको थियो। विशेषतः जमरा जौको राख्ने गरिन्छ। हाल मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ।

यस दिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्रस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा जमरा छर्ने गरिन्छ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ। नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।