काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, सतर्क रहन आग्रह


काठमाडौं ।

काठमाडौं उपत्यकासहित कोशी प्रदेशको पूर्वी भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व आसम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

विभागका अनुसार अहिले बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ।