अलकराजले उपाधि जिते


एजेन्सी ।

स्पेनका कार्लोस अलकराजले चाइना ओपन फाइनल जित्दै उपाधि जितेका छन् । अलकराजले विश्व नम्बर एक यानिक सिनरलाई तीन सेटमा पराजित गरेर उपाधि जितेका हुन् ।

पहिलो सेट ६–७ ले गुमाएका उनले यसपछिका सेट ६–४, ७–६ ले जितेका हुन् । योसँगैं इटालियन सिनर तीनै भेटमा अलकराजसँग पराजित भएका छन् ।

यो अलकराजको यस वर्ष एटीपी टूर टाइटलमा चौथो उपाधि हो भने करिअरको १६ औं हो । यसअघि अलकराजको प्रदर्शन खराब भएको थियो । यस वर्ष विम्बल्डन उपाधि जितेपछि उनी पराजित हुँदै आएका थिए । उनले पेरिस ओलम्पिक्समा नोभाक जोकोभिचसँग हारको सामना गरेका थिए । यस्तै, यूएस ओपनमा दोस्रो चरणबाटै उनी बाहिरिएका थिए ।

यसो त यो खेलमा पहिलो सेट गुमाउनअघि उनले ५–२ को अग्रता लिएका थिए । तर, सिनरले दुई सेट प्वाइन्ट बचाएर टाइब्रेकमा जित हात पारेका थिए । दोस्रो सेटमा अलकाराजले एक ब्रेकमै जिते । यसपछि निर्णायक सेट टाइब्रेकरमा पुगेको थियो । जसमा, अलकाराजले जित हासिल गरे । सिनरले यस वर्षका ग्रान्डस्लाम प्रतियोगिताहरू अस्ट्रेलियन ओपन र यूएस ओपन जितेका थिए । उनले यीसँगैं यस वर्ष ६ उपाधि जितेका छन् ।

चाइना ओपनको महिलातर्फ एरिना सबालेन्का क्वार्टरफाइनलमा पुगेकी छन् । सबालेन्काले अमेरिकाकी मेडिसन किजलाई सीधा सेट ६–४, ६–३ ले पराजित गरेकी थिइन् । बेलारुसकी खेलाडीलाई यो खेल जित्न केवल ६५ मिनेट लागेको थियो ।
यो सबालेन्काको लगातार १५ औं जित समेत थियो । उनले पछिल्लो पटक क्यानाडियन ओपनको क्वार्टरफाइनलमा १० अगस्टमा हार बेहोरेकी थिइन् । तीन पटककी ग्रान्ड स्लाम विजेताले यस वर्ष ५७ सिंगल्स खेलमध्ये ४६ मा जित हासिल गरेकी छन् । उनले सिनसीनाटी ओपन र यूएस ओपन हालै जितेकी थिइन् ।